काठमाण्डौ कात्तिक २४ । भोलि बिहीवारदेखि सुरु हुने बाह्रौँ राष्ट्रिय जनगणनाको सबै तयारी पूरा भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । प्रत्येक १० वर्षमा सञ्चालन हुने राष्ट्रिय जनगणना भोलि बिहीवारदेखि सुरु हुन लागेको हो ।

आज बुधवार पत्रकार सम्मेलनमा विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जनगणनाका लागि आवश्यक सम्पूर्ण तयारीको काम सम्पन्न भइसकेको बताउनुभयो । जनगणनाको अवधि कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म १५ दिनको हुने उहाँले बताउनुभयो । जनगणना सञ्चालन गर्नका लागि देशभरमा सात प्रदेश जनगणना कार्यालय, ८७ जिल्ला जनगणना कार्यालय र तीन सय ४९ स्थानीय जनगणना कार्यालय स्थापना गरिएको उहाँले जानकारी दिनुभयो । काठमाण्डौमा भने पाँच वटा जनगणना कार्यालय स्थापना गरिएको र धेरै जनसङ्ख्या भएका जिल्लाहरू– मोरङ, झापा, सुनसरी, ललितपुर, रुपन्देही र कैलालीलगायतका जिल्लामा भने दुईरदुई वटा जिल्ला जनगणना कार्यालय रहेको महानिर्देशक श्रेष्ठले बताउनुभयो । जनगणनाका लागि देशभर ४० हजार गणक र आठ हजार पाँच सय सुपरीवेक्षक परिचालन हुने उहाँले बताउनुभयो ।

तथ्याङ्क विभागका महानिर्देशक श्रेष्ठले नेपालको नक्सामा समेटिएको भूगोल लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारत सरकारले सहज रूपमा आवतजावत गर्न दिएमा भौतिक रूपमा उपस्थित भएर जनगणना गरिने र त्यसरी आवतजावत गर्न नदिएमा अन्य स्रोतको प्रयोग गरेर जनगणना गरी त्यो क्षेत्रको अनुमानित विवरण प्रकाशन गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘भारत सरकारबाट सहज आवतजावत दिने र जनगणना गराउने अवस्था रह्यो भने हामी भौतिक रूपमै उपस्थित भएर त्यहाँ जनगणना गर्छौँ । कारणवश गर्न नसकेको अवस्था रह्यो भने त्यत्तिकै छोड्ने हुँदैन । कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रको जानकारी हामीले अन्य स्रोतहरूबाट र त्यहाँसँग सम्बन्धित अन्य व्यक्तिहरूबाट या नजिक हाम्रो पहुँच भएको ठाउँबाट लिँदा सात सयदेखि आठ सयसम्मको हाराहारीमा जनसङ्ख्या त्यहाँ रहेको छ भन्ने प्रारम्भिक कुरा हामीले प्राप्त गरेका छौँ । अहिले प्रविधिको विकास साह्रै राम्रो भएको छ । स्याटेलाइट प्रयोग गरेर ती क्षेत्रमा कति घर छ भन्ने त सजिलैसँग गन्न गर्न सक्छौँ । एउटा घरमा औसत परिवार कति बस्दो रहेछ भन्ने विवरण लिन पनि हामीलाई गाह्रो हुँदैन । यसरी त्यहाँको केही अनुमान हामी निकाल्न सक्छौँ । त्यो अनुमानसहितको रिपोर्ट हामी प्रकाशन गर्नेछौँ ।’

‘जनगणना(२०७८’ का केही फरक विशेषता
राष्ट्रिय योजना आयोगका सदस्य डा। रामकुमार फुँयालले सङ्घीयता कार्यान्वयनपछिको पहिलो राष्ट्रिय जनगणना भएकाले यो जनगणनाको निकै महत्त्व रहेको बताउनुभयो । सबै तहमा चाहिने खण्डीकृत विवरण जनगणनाबाट आउने बताउनुभयो । आउँदा दिनमा विकासका योजना तर्जुमा गर्न र बजेट बनाउनका लागि यो जगणना माउ ग्रन्थको रूपमा रहने उहाँले बताउनुभयो ।

काठमाण्डौ महानगरपालिकासहित काठमाण्डौका ६ नगरपालिकामा डिजिटल पद्धतिमा आधारित ुक्यापीु विधि प्रयोग गरी ट्याबलेटबाट विवरण सङ्कलन गरिने तथ्याङ्क विभागले जनाएको छ । साथै विदेशमा रहेका नेपाली कुटनीतिक नियोगहरूमा ई–सेन्सस विधि अपनाइ वेबसाइट एप्लिकेशहनबाट नेपाली कर्मचारी तथा आश्रित व्यक्तिहरूको जनगणना सङ्कलन गरिने भएको छ । यस पटकको जनगणनाको मूल नारा ‘मेरो गणना, मेरो सहभागिता’ तय भएको छ । उज्यालोवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय