
दार्चुला, मंसिर १४ । यहि मंसिर १७ गते देखी निर्वाचन आयोगले दार्चुलाका हरेक स्थानीय तहमा मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । जिल्लाका ८ वटा स्थानीय तहमा पुगेर दुई चरणमा मतदाता नामावली संकलन सम्बन्धी विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको निर्वाचनआयोगले जनाएको छ ।
यहि मंसिर १७ देखि मंसिर २६ गतेसम्म सञ्चालन हुने पहिलो चरणको कार्यक्रममा जिल्लाको व्यासँ अपि हिमाल लेकम र शैल्यशिखर नगरपालिकामा, मतदाता नामावली संकलन गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
यस्तै यहि मंसिर २९ देखि पुस ९ गतेसम्म सञ्चालन हुने दोस्रो चरणको कार्यक्रममा मालिकार्जुन दुहुँ गाउँपालिका व्यासँ गाउँपालिका नौगाड गाउँपालिकामा मतदाता नामावली संकलन गरिनेछ ।
महाकाली नगरपालिकामा हाल यो कार्यक्रम जिल्ला प्रशासन कार्यालय दार्चुला इलाका प्रशासन कार्यालयमार्फत नियमित रुपमा मतदाता नामावली संकलन भइरहेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका निर्वाचन अधिकृत प्रदिप सिह धामीले जानकारी दिए ।
मतदाता नामावलीमा नाम दर्ता गराउँदा नागरिकले नागरिकताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको ठेगाना भन्दा अन्य स्थानको मतदाता नामवलीमा नाम दर्ता गराउँदा बसाइँसराइको प्रमाणपत्र, विवाह दर्ताको प्रमाणपत्रसहितको कागज ल्याउनु पर्ने उनले सरोकारवालाहरुलाई जानकारी गराउनु भएको थियो । यस्तै बाहिरी जिल्लामा स्थायी ठेगाना रहेकाको समेत मतदाता नामवलीको विवरण संकलन गरिने बताइएको छ ।बाह्य जिल्लाका नागरिकलाई बसोबास रहेकै जिल्लामा निर्वाचन कार्यालयमा आएर आफ्नो विवरण भरी मतदाता नामवलीमा नाम समावेश गर्न सकिने व्यवस्था गरिएको पनि निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।
मतदाता नामावली दर्ता र संकलनलाई नियमित र व्यवस्थित गरी स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन र योग्य मतदाताहरू मतदाता नामावलीमा नछुुटून् भन्ने यो कार्यक्रमको लक्ष्य रहेको धामीले बताए। यस्तै बाहिरी जिल्लामा स्थायी ठेगाना रहेका व्यक्तिको समेत मंसिर १७ गतेदेखि मतदाता नामावलीको विवरण संकलन जिल्ला निर्वाचन कार्यालय दार्चुलाबाट गरिने बताइएको छ । उनले छुट भएका व्यक्तिलाई नामदर्ता गराउन राजनीतिकर्मी, सञ्चारकर्मी, सरोकारवालाहरूको भूमिका महत्वपूर्ण हुने बताए।
दार्चुलामा प्रतिनिधिसभा तर्क १ र प्रदेशसभातर्फ २ वटा निर्वाचन क्षेत्र छन्। जिल्लामा २०७७ पुस पाच गते सम्म कुल मतदाता सख्या ८३ हजार १९४ जना पुगेको छ भने २०७४ सालको निर्वाचनमा जिल्लाको कुल मतदाता संख्या ७८ हजार ५सय १३ रहको थियो । मंगलबार जिल्ला सदरमुकाम खलंगाको भवना सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा जिल्लास्तरीय कार्यक्रम अनुगमन समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशीको अध्यक्षतामा सरोकारवालाहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।