दार्चुला । हिमाली क्षेत्रमा वस्न रुचाउने राष्ट्रिय पंक्षि डाफेको सङख्या दिनानुदिन कम हुदै गएको छ । वढ्दै गएको हिमाली क्षेत्रको चिसोका कारण राष्ट्रिय पंक्षि मानव वस्ती नजिक झर्ने हुदाँ स्थानीय मानिसहरुले सिकारका लागि पासो थापी शिकार गर्ने भएकाले संकटमा परेको छ ।

काग तथा बाजले जिस्काउने, लखेट्दा भाग्ने क्रममा ठोक्किएर तथा चोरीसिकार जस्ता कारणले यो पंक्षिको संख्यामा कमि आउन थालेको हो । हिमाली भेगमा पाइने रङ्गीचङ्गी यो पंक्षि हिमरेखा क्षेत्रमा बस्न रुचाउने लजालु र काँतर स्वभावको हुने भएकाले नजिकै मानिस हिडेको आभास पाउने बित्तिकै एक प्रकारको क्लीह, क्लीह आवाज निकाली भाग्ने गर्दछ ।

वर्षा याम पछिको समय र वसन्त तथा ग्रीष्म ऋतुमा समेत सिकारीहरूले पासो थाप्ने र मार्ने गरेकाले नेपालमा यसको संख्या कम हुदैँ गएकाले संरक्षणमा सरोकालवला निकायले बेलैमा विशेष ध्यान दिनुपर्ने बिज्ञहरु बताउँछन । विश्वमा यस चराको संख्या कति होला भनेर तथ्याङक नभएपनि नेपालमा यसको संख्या ३ हजार ५ सय देखि ५ हजारसम्म भएको अनुमान राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले गरेको छ ।

बैशाख देखि असार महिनामा साधारणतया ढुङ्गयानको तलपट्टि, जमिन, ठूला रुखहरुको टोड्कामा ओत वस्ने र ४–६ वटासम्म फुल पार्ने गर्दछ । ७० सेन्टिमिटरसम्म लामो डाँफेको भालेको वजन २ हजार ३ सय ८० ग्राम तथा पोथीको वजन २ हजार १ सय ५० ग्रामसम्म हुन्छ । डाँफे नेपाल लगायत भारत, बर्मा, तिब्बत तथा अफगानिस्तानका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाईने पन्क्षी हो ।

नेपालको सबै हिमाली संरक्षित क्षेत्रहरु (मकालु बरुण, सगरमाथा, लाङटाङ, शे फोक्सण्डो, खप्तड र रारा राष्ट्रिय निकञ्जहरु, ढोरपाटन शिकार आरक्षस, कञ्चनजंघा, गौरीशंकर, मनास्लु, अन्नपर्ण तथा अपिनाम्पा संरक्षण क्षेत्रहरु) मा यो पंक्षि पाइन्छ । यसको पंक्षिको प्वाँख विभिन्न धार्मिक परम्परामा पनि अत्यन्त महत्वका साथ प्रयोग हुने गरेको धार्मिक गुरुहरु वताउँछन् ।

डाँफेको स्वभाव अरु पंक्षिको भन्दा केहि फरक हुने भएकाले स्वभाव अनुसारको बासस्थानको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको छ । विश्वब्यापी रुपमा आइयुसीएनले यस चरालाइ खतराको सूची भन्दा बाहिर राखेको भएपनि नेपालमा क्षेत्रगत रुपमा यसको शिकार र ब्यापारको कारण संख्या घट्दै गएकोले खतराको सूचीको नजिक पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय