बैतडी ११ माघ । बैतडीमा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दो अवस्थामा छ । ३५ जनाको पीसीआर परीक्षण गर्दा २६ जना र ८५ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी ३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका श्रोत व्यक्ति चन्दन सुवेदीले सौगत खबरलाई बताउनुभयो ।
संक्रमण पुष्टि भएका मध्ये दशरथचन्द नगरपालिका १७ जना, पाटन नगरपालिकाका ७ जना, पञ्चेश्वर गाउँपालिकाका ३ जना, पुर्चौंडी नगरपालिकाका एकजना र सिगास गाउँपालिकाका एकजना रहेका छन् । यस्तै कैलालीका १ जना, कञ्चनपुरका एक जना र बझाङका एकजनामा पनि कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या १२४ पुगेको छ । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा ३६ जना, पाटन नगरपालिकामा २३ जना, पुर्चौंडी नगरपालिकामा १० जना र मेलौली नगरपालिकामा ६ जना रहेका छन् ।
यस्तै, पञ्चेश्वर गाउँपालिकामा १० जना, सिगास गाउँपालिकामा ६ जना, सुर्नया गाउँपालिकामा २ जना, दोगडाकेदार र शिवनाथ गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका बाहेक सबै स्थानीय तहमा सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला बाहिरका २९ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै जिल्लामा आज १६ जना संक्रमणमुक्त भएका छन् । जिल्लामा कोरोना संक्रमण बढ्दै गएकाले स्वास्थ्यका मापदण्ड परिपालनामा ध्यान दिन स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।