दार्चुला । जिल्लाको नौगाड गाउँपालिकाको डामडेरामा विहीबार राती आकाशबाट विद्युतीय यन्त्र जस्तो देखिने शङ्कास्पद वस्तु खसेको छ । राती करिब ८ बजेतिर तीन ओटा ब्याट्री जडान गरिएको विद्युतीय यन्त्र जस्तो देखिने बेलुन खसेको स्थानियले वताएका छन ।
आकाशमा उडिरहेको बेलुन विद्युतीय पोलमा ठोक्किएर खसेपछि हेर्दा भारतीय मोबाइल नम्बर लेखिएको ब्याट्री जडित डिभाइस जस्तो देखिने वस्तु रहेको पाइएको छ । विद्युतीय यन्त्र जस्तो देखिने उक्त वस्तुभित्र मेमोरी कार्ड जस्ता प्लेटहरू, तीन ओटा ब्याट्री जडान गरिएको छ भने भारतीय मोबाइल नम्बर लेखिएको छ ।
उक्त मोबाइल नम्बरमा फोन गर्दा उत्तराखण्ड प्रदेशको राजधानी देहरादुन स्थित भारतीय मौसम विज्ञान विभागको रहेको जानकारी प्राप्त भएको छ । भारतीय मौसम विज्ञान विभागले वायुमण्डलको डाटा संकलनका लागि बेलुन बाधेर उक्त डिभाईस उडाएको भन्ने वुझिएको छ ।
भारतले मौसम सम्बन्धि तथ्यांक संकलनका लागि बेलुन पठाएको बुझिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बताए । ‘ बेलुनमा एउटा उपकरण राखेको अवस्थामा भेटिएको थियो,’ उनले भने, ‘त्यो भारतले मौसम सम्बन्धि तथ्यांक संकलनको लागि पठाएको भन्ने बुझिएको छ ।’
त्यसमा मौसम विज्ञान केन्द्र देहरादुन लेखिएको छ । ‘यसअघि पनि पठाउने रहेछन्, हावा कम भएपछि बेलुन झरेको हो,’ उनले भने, ‘मौसम सम्बन्धि तथ्यांक संकलनका लागि भए त ठिकै हो, अन्य प्रयोजनको लागि पनि हुनसक्छ, प्राविधिकसँग सल्लाह गरिरहेका छौं ।’
भारतले दार्चुलाको आकाशमा शङ्कास्पद गतिविधि गर्ने गरेको छ । बेलाबेला दार्चुलाको आकाशमा सुरक्षा निकाय रहेका भवन माथि हेलिकोप्टर समेत उडाउने गरेको छ ।