
दार्चुला १७ भदौ । दार्चुला घटनाको बारेमा स्थलगत अध्ययन सकेर नेपालले तयार पारेको प्रतिवेदनलाई भारतले नेपालको आन्तरिक प्रतिवेदन भन्दै त्यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरबिन्दम बाग्छीले यस घटनाका सम्बन्धमा मिडिया रिपोर्ट देखेको र आधिकारिक रुपमा आफूसँग कुनै पनि जानकारी नभएको प्रतिक्रिया दिए । उनले भारतीय सीमा सुरक्षा बलको संलग्नता छ भन्ने विषय आरोप मात्र भएको उल्लेख गरे । दार्चुलाको ब्याँस गाउँपालिका(२ का जयसिंह धामी गत साउन १५ गते महाकाली नदी तर्ने क्रममा तुइनबाट पानीमा खसेर बेपत्ता भएका थिए । उक्त घटनामा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको डोरी काटिदिएको प्रत्यक्षदर्शीले बताएका छन् । गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले मंगलबार दिएको प्रतिवेदनमा एसएसबीको उपस्थितिमा घटना भएको उल्लेख गरिएको छ । समितिले उक्त घटनामा एसएसबीको उपस्थितिबारे अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सिफारिस गरेको छ । साभार अनलाइनखबर