दार्चुला भदौ २९ । जिल्लाको नौगाड गाउँपालिकाको वडा नं.६ परीगाँउमा रहेको समौजी आधारभूत विद्यालयको तस्विर यति वेला सामाजिक सञ्जाल फेशवुकमा भाईरल भएको छ । तस्विरमा धेरैले विभिन्न प्रकारका टिकाटिप्पणी गरेको पाइन्छ । विद्यालय संचालन भवनमा नभइ त्रिपालमुनी रहेको छ । यो विषयमा वडा नं. ६का वडा अध्यक्ष गोरे धामीलाई वुझ्दा विद्यालयको पूरै भवन गत वर्ष श्रावण ४ गते आएको परीगाउँ खोलाको बाढीले बगाएको र हाल अस्थायी रुपमा टेन्टको ब्यवस्था गरि अध्यायपन गराइरहेको जानकारी दिए । पोहर साल देखि हालसम्म विद्यालयलाई गाउँपालिकाले पनि नहेरेको र सो टेन्ट पनि जिल्ला रेडक्रस सोसाइटि वाट प्राप्त भएको उनले वताए । बाढीले बगाएपश्चात अस्थायीरुपमा टेन्ट मार्फत विद्यालय संचालन भइरहेको गाउँपालिका सूचना अधिकृत एवंम शिक्षा शाखा प्रमुख प्रेमराज जोशीले जानकारी दिए । त्यस्तै गाउँपालिकाका कार्यकारी अधिकृत प्रितमसिंह ठगुन्नाले विद्यालयको अवस्था अत्यन्तै नाजुक भएको हुँदा यस वर्ष भवन निर्माणका लागि टेण्डर आह्वान पक्रिया भएको बताए ।