हामी कति विचित्र छौँ। आफ्नो नेता राम्रो छ भन्दै अरूलाई गाली गर्छौँ। नेताको पक्षमा बहस गर्दा मित्रता बिगार्छौँ, सम्बन्ध तोड्छौँ र आफ्नै मान्छेसँग दुस्मनी गर्छौँ। तर केही समयपछि त्यही नेता अर्कै नेतासँग मिलेर एउटै मञ्चमा मुस्कुराइरहेको हुन्छ।

‎नेता मिल्छन्, स्वार्थ मिल्छ, सत्ता मिल्छ। तर नेताका लागि झगडा गर्ने जनता भने एकअर्कासँग मिल्न सक्दैनन्।

‎नेताले राजनीति गर्छ, हामी त्यसलाई व्यक्तिगत युद्ध बनाउँछौँ। नेता आज एउटा पक्षमा हुन्छ, भोलि अर्को पक्षमा पुग्न सक्छ। तर हामी भने हिजो नेताका लागि बोलेका शब्द र गरेका गाली बोकेर आज पनि सम्बन्ध बिगारिरहेका हुन्छौँ।

‎राजनीति विचारको विषय हो, वैरभावको होइन। नेता भगवान् होइनन्, उनीहरू पनि आफ्नै स्वार्थ, कमजोरी र परिस्थितिअनुसार निर्णय गर्ने मानिस हुन्। समर्थन गर्न सकिन्छ, आलोचना गर्न सकिन्छ, तर आफ्नो विवेक नै नेताको जिम्मा लगाउनु बुद्धिमानी हुनसक्दैन ।

‎देशमा परिवर्तन त्यतिबेला सुरु हुन्छ, जब हामी नेताको पक्षमा नभएर , सत्य र विवेकको पक्षमा उभिन सिक्छौँ।

‎आज हामीले सोच्नुपर्ने कुरा यति मात्र हो। मेरो नेता राम्रो छ भनेर अरूलाई गाली गर्नुअघि मेरो सोच सही छ कि छैन भनेर आफैँलाई प्रश्न गरौँ।

‎किनकि नेता बदलिन सक्छन्, सत्ता बदलिन सक्छ, गठबन्धन बदलिन सक्छ, तर नेताका लागि बिगारेको सम्बन्ध फेरि सजिलै फर्किँदैन।

‎समस्या नेता मात्र होइनन्। समस्या हाम्रो अन्धसमर्थन, हाम्रो राजनीतिक अहंकार र नेताका लागि आफ्नै मान्छेसँग दुश्मनी गर्ने प्रवृत्ति पनि हो।

‎नेतालाई नेता नै बनाऔँ, भगवान् होइन। राजनीतिलाई राजनीति नै बनाऔँ, व्यक्तिगत शत्रुता होइन। अनि आफ्नो विवेकलाई सबैभन्दा माथि राखौँ।

‎नरेश प्रसाद जोशी सञ्चारकर्मी
लेकम – ५ दार्चुला

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय