टीकापुर- कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ । घर डुबानमा परेपछि भजनीवासीको विचल्ली भएको छ । भजनीमा सबै वडा बाढीले जलमग्न भएका नगर प्रमुख केवल चौधरीले जानकारी दिए ।
बाढी बस्तीमा पसेपछि तीन हजार बढी घर डुबानमा परेका उनले जानकारी दिए। हरेक वर्ष बाढी आउने भजनीमा सबै वडा डुबानमा परेपछि पालिकालाई उद्धारमा समेत समस्या हुने गरेको छ । भजनी नगरपालिका मोहना, पथरैया, कन्द्रा र काढा नदीको चपेटामा पर्ने गर्दछ ।
बाढी घरमा पसेपछि वडा नं २ का सन्देश चौधरीको परिवार बुधबार दिउँसोदेखि सडकमा बसेको छ । लगातारको वर्षासँगै आएको बाढीले जोशीपुर गाउँपालिका ३ भितरियामा पौने दुई सय घर डुबानमा परेका छन् । काडा नदीमा आएको बाढी बस्तीमा पसेपछि भितरिया गाउँका एक सय ७० बढी घर डुबानमा परेको स्थानीय भागीराम डगौराले बताए। बाढीको सतह बढ्दै गएपछि कोही परिवार सडकमा निस्केको र कोही घरभित्रै बसिरहेको उनले जानकारी दिए।
यसैगरी लगातारको वर्षापछि कैलारी गाउँपालिका–७ रामपुरमा बाढीको उच्च जोखिम रहेका घरपरिवार र सरसामानलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेकोे प्रहरीले जनाएको छ । रामपुरमा तीन दर्जन बढी घरमा पानी पसेको छ ।
एक जनाको मृत्यु
कैलालीमा बाढीले बगाउँदा गौरीगङ्गा नगरपालिकामा एक जनाको मृत्यु भएको छ । कटैनी खोलामा आएको बाढीले बगाउँदा गौरीगङ्गा नगरपालिका नगरपालिका–११ की २० वर्षीया सुस्मिता चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयलले जनाएको छ । काठेपुल तर्ने क्रममा बाढीले बगाउँदा चौधरीको मृत्यु भएकोे बताइएको छ ।
