काठमाडौँ — सहकारी संस्थाको बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले कांग्रेस उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङमाथि थप अनुसन्धान गरी शीघ्र कानुनी कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ ।ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारीको बचत रकम हिनामिनासम्बन्धी उजुरीका आधारमा उपसभापति गुरुङसँगै उनकी ‘पूर्वपत्नी’ ज्योति गुरुङलाई पनि थप अनुसन्धान र कारबाही गर्नुपर्ने निष्कर्ष समितिले निकालेको हो ।
सहकारी सञ्चालकले दिएको उजुरीअनुसार मितेरी सहकारीको करिब १४ करोड रुपैयाँ ज्योति गुरुङलगायतले हिनामिना गरेका छन् । सहकारीको हिनामिना सार्वजनिक भइसकेपछि धनराज र ज्योतिले २०७६ फागुन २९ मा अदालतबाट सम्बन्धविच्छेद गराएको पाइएको छ । तर, धनराजले पछिल्लो पटक २०७७ फागुन ३ मा मितेरी सहकारीबाट १२ लाख रुपैयाँ ऋण लिँदा हकवालामा ज्योतिकै नाम लेखेका थिए । धनराजले भने सम्बन्धविच्छेद भइसकेकाले ज्योतिको नाम नलेख्न आफूले भने पनि सहकारी कर्मचारीबाट बदमासी गरिएको कान्तिपुरसँग दाबी गरेका छन् । सम्बन्धविच्छेद हुनुअगाडि घर बनाउने प्रयोजनका लागि उनले मितेरीबाट करिब १ करोड ८० लाख रुपैयाँ ऋण लिएका थिए । मितेरीमा २०५७ जेठ १२ मा सहायकस्तरको कर्मचारीका रूपमा प्रवेश गरेकी ज्योति २०७५ वैशाख ४ मा महाप्रबन्धक बनेकी थिइन् ।
धनराज र ज्योतिको सम्बन्धविच्छेद वैधानिक भए पनि सँगै बस्ने गरेको चर्चा रहेको संसदीय समितिको प्रतिवेदनमा उल्लेख छ । ‘मितेरी बचत तथा ऋण सहकारीमा कार्यरत ज्योति गुरुङले पति धनराज गुरुङसँग सम्बन्धविच्छेद गरेर पनि एकसाथमै बस्ने गरेको चर्चा छ,’ प्रतिवेदनमा भनिएको छ, ‘सहकारी संस्थाका तर्फबाट ज्योति र धनराजसमेतका उपर प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय, हेटौंडामा उजुरी परी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा आएकामा सो सम्बन्धमा थप अनुसन्धान गरी शीघ्र कानुनी कारबाही अगाडि बढाउन समितिको अन्तिम बैठकबाट निर्देशित गरेको छ ।’ ज्योतिलाई खोजी गरी समितिसमक्ष उपलब्ध गराइदिन गृह मन्त्रालयमा पत्राचार गरिएको पनि प्रतिवेदनमा भनिएको छ । ज्योति हाल फरार छिन् ।
सहकारी ठगीमा आफ्नो नाम जोडिएपछि सांसद एवं कांग्रेस उपसभापति गुरुङले भदौ २५ को प्रतिनिधिसभा बैठकमा आफूमाथि अनुसन्धान गर्न माग गरेका थिए । मितेरी सहकारी ठगीमा संलग्नको नामै तोकेर सञ्चालक बोधविक्रम थापाले उजुरी दिएको भए पनि वाग्मती प्रदेशको सहकारी मन्त्रालयले कांग्रेस उपसभापति गुरुङको नाम हटाएर प्रहरीमा फाइल पठाएको थियो । तर, धनराजसमेतमाथि अनुसन्धान गर्नुपर्ने निवेदन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पनि परेको थियो ।
ठगी प्रकरणमा धनराजमाथि सीआईबीले अनुसन्धान अघि बढाइसकेको छ । समस्याग्रस्त कतिपय सहकारीमा ‘संस्थागत नक्कली अभ्यास’ रहेको उल्लेख गर्दै संसदीय समितिले छानबिन गर्नुपर्ने भनेको छ । सहकारीकै कारण कतिपयले नक्कली विवाहसमेत गर्ने गरेको पनि प्रतिवेदनमा उल्लेख छ । ‘झूट र नक्कली कारोबारको शृंखलाकै कारण अहिले म सहकारी संस्थामा आबद्ध नरहेको कुरा अभिलेख गराइपाऊँ भन्ने व्यहोराको निवेदनको चाङ सहकारी निकायहरूको कार्यालयमा लाग्न थालेको छ,’ प्रतिवेदनमा लेखिएको छ, ‘सहकारीमा ऋणपत्र झूटो र नक्कली हुने भन्दै ऋणीहरूले समेत समितिमा जानकारी गराएका छन् । कुनै एउटा सन्दर्भको काममा प्रयोग गरिएका कागजातका आधारमा नक्कली ऋण खडा गर्ने र किर्ते दस्तखतसमेत गरिदिने व्यवहारहरू सामान्य सोचसमझको मान्छेले गर्न नमिल्ने र नसक्ने कुरा हुन् ।’ कान्तिपुरबाट
