बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका-३, खोचलेक नजिक अटो दुर्घटना हुँदा एक गर्भवती महिला सहित चार जना घाइते भएका छन्। शुक्रबार दिउँसो साढे १२ बजेतिर सिल्लेगडाबाट खोचलेकतर्फ गइरहेको सु.प.प्र ०१००१ ह ६०७० नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको हो।
दुर्घटनामा २५ वर्षीया पार्वती जोशी, ४५ वर्षीया बसन्ती जोशी, २५ वर्षीय राजेन्द्र भाट तीनै जना दोगडाकेदार गाउँपालिकाका बासिन्दा र २० वर्षीया हिरा सार्की पुर्चौडी नगरपालिका-९ की घाइते भएका छन्। घाइतेहरूमध्ये पार्वती जोशी गर्भवती रहेको खुलेको छ।
सबै घाइतेको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ। अटो चालक उमेश साउद २२ वर्षीय, शैल्यशिखर नगरपालिका-९, दार्चुला लाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनकराज ढुंगानाले जनाएका
छन्।
