अछाम — अछामको बान्नीगढी जयगढ गाउँपालिकामा दुई समूहबीच ‘ग्याङफाइट’ हुँदा तीन जना घाइते भएका छन्। मंगलसेन र सुगालीका युवाहरूको समूहबीच कुटपिट हुँदा तीन जनाले गम्भीर चोट पाएका छन् भने प्रहरीले कुटपिटमा संलग्न १४ जनालाई नियन्त्रणमा लिएको छ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ईश्वरीप्रसाद भण्डारीले जानकारी दिएका छन्। उनका अनुसार गत असोज ३० गते बान्नीगढी जयगढ गाउँपालिका–४ तिमिल्सेनमा लागेको सैनीगडा मेलामा दुई समूहबीच विवाद चर्किदै कुटाकुटमा परिणत भएको हो।
घटनामा सुगालीका विराज रावल, विनय रावल र महेन्द्र रावल घाइते भएका छन्। डिएसपी भण्डारीले बताएअनुसार उनीहरूको टाउको, ढाड, घाँटी र पिठ्युँमा चोट लागेको छ र उनीहरूको उपचार भइरहेको छ।
प्रहरीले मादक पदार्थ सेवन गरी हातहतियारसहित कुटपिटमा संलग्न रहेको पुष्टि गरेको छ। खुकुरी र फलामका रडहरू प्रयोग गर्दै आक्रमण गरिएको प्रहरीले जनाएको छ। मंगलसेन नगरपालिका–३ र ४ का १४ जना युवालाई पक्राउ गरिएको छ, जसमध्ये ९ जनालाई बिहीबार र ५ जनालाई शुक्रबार नियन्त्रणमा लिइएको हो।
घटनापछि केही व्यक्तिहरू अझै फरार रहेको र उनीहरूलाई खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। फरार रहेकाहरूलाई पक्रेर कानुनी कारबाही अघि बढाइने डिएसपी भण्डारीले स्पष्ट पारे।
