दार्चुला जिल्लाको दुहुँ गाउँपालिका–५, सुतखोला थाममा ४६ वर्षीय हर्कसिंह बडाल मृत अवस्थामा फेला परेका छन्। मृतक बडाल दुहुँ गाउँपालिका वडा नम्बर २, हिकिलाका स्थायी बासिन्दा हुन्।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार बडाल बिहीबार बिहान घरबाट सदरमुकाम खलंगा जाने भन्दै निस्किएका थिए। शनिबार दिउँसो उनको शव भीरमुनि फेला परेको हो।
शव भेटिएको स्थानको अवस्था हेर्दा बडाल भीरबाट लडेका हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
