दार्चुला :दार्चुला, माघ १९ – दार्चुलामा ९ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप दिने तयारी भइरहेको छ। माघ २२ गतेदेखि सञ्चालन हुने खोप अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययनरत र विद्यालय नजाने १० देखि १४ वर्षका किशोरीलाई खोप दिइने छ।

स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र भट्टका अनुसार देशव्यापी खोप अभियानको तयारीस्वरूप जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख र जिल्लाभरका स्वास्थ्य संस्थाका प्रमुखलाई तालिम दिइँदैछ। माघ ११ गतेसम्म तालिम सञ्चालन हुने छ।

जिल्लाभरका १३० माध्यमिक विद्यालय र स्वास्थ्य संस्थाहरू खोप केन्द्रका रूपमा तोकिएका छन्। महिला स्वास्थ्य स्वयंसेविका र विद्यालयका शिक्षिकालाई पनि तालिम दिने योजना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

नेपालमा पाठेघरको मुखको क्यान्सर महिलामा हुने क्यान्सरमध्ये पहिलो स्थानमा छ। ‘ग्लोबल क्यान्सर अब्जरभेटरी २०२२’ का अनुसार नेपालमा हरेक वर्ष २,१६९ महिलामा यो क्यान्सर देखा पर्छ, जसमध्ये १,३१३ महिलाको मृत्यु हुन्छ। औसतमा दैनिक चार महिलाको ज्यान जाने तथ्यांकले देखाउँछ।

विश्व स्वास्थ्य सङ्गठनको २०२० को रिपोर्टअनुसार हरेक वर्ष विश्वभर ५ लाख ७० हजार महिलामा यो क्यान्सर हुने र ३ लाख ११ हजारले ज्यान गुमाउने अनुमान गरिएको छ। सन् २०३० सम्ममा संक्रमित र मृत्यु हुनेको सङ्ख्या क्रमशः ७ लाख र ४ लाख पुग्ने अनुमान छ।

पाठेघरको मुखको क्यान्सर निवारणलाई सरकारले प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रममा समावेश गरेको छ। तीन पटकसम्म यसबारे घोषणा गरी यसको रोकथाम र नियन्त्रणका लागि सक्रिय पहल गरिरहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय