दार्चुला – “स्वस्थ जीवनका लागि लागूपदार्थमुक्त समाज” भन्ने मूल नाराका साथ दार्चुलामा साता दिनसम्म सञ्चालन गरिएको लागूपदार्थ दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय अभियान आज प्रभातफेरी र र्याली सहित भव्यरूपमा सम्पन्न भएको छ।
असार ५ गतेदेखि सुरु भएको अभियानको समापन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामीले जानकारी गराउँदै अभियानलाई सर्वसाधारणसम्म प्रभावकारी ढंगले पुर्याउन विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताए।
समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले लागूपदार्थविरुद्धको लडाइँ घर–घरबाटै सुरु गर्नुपर्ने आवश्यकता औँल्याउँदै स्थानीय तहहरुले चेतनामूलक कार्यक्रमलाई समेत विकास कार्यसरह प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
त्यस्तै, महाकाली नगरपालिकाका उपप्रमुख दुर्गाकुमारी खत्री विष्टले नगरपालिका अन्तर्गत प्रत्येक वर्ष विद्यालय र समुदायस्तरमा लागूपदार्थ विरुद्ध कानुनी सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन हुँदै आएको बताइन्।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रकाश दाहालका अनुसार सप्ताहव्यापी अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय र प्रहरी चौकीमार्फत विद्यालय र सार्वजनिक स्थानहरूमा सचेतनामूलक कार्यक्रमहरू आयोजना गरिएका थिए।
जिल्ला प्रशासन कार्यालयको आयोजनामा तथा सरोकारवाला निकायहरूको सहकार्यमा सम्पन्न भएको प्रभातफेरी तथा र्यालीमा सरकारी कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी, महिला समूह, सञ्चारकर्मी, स्थानीयवासीलगायतको उल्लेख्य उपस्थिति रहेको थियो।
