भनिन्छ,”पहिलो बिचार नै अन्तिम बिचार हो” तर म तयार छैन, यो नै अन्तिम सत्य हो भनेर स्विकार्न। मलाई यस्तो लाग्छ, ब्यावहार बिज्ञान अर्थात भोगाई र अनुभुति मात्र वास्तविक सत्य हो मानव जीवनका लागि। यही-यस्तै पुष्टि गरिदियो पछिल्ला परिणाम र उनको व्यवहारले पनि।

कुनैबेला कोरोना कहरको सुरुवाती पेरिफेरिमा, सामाजिक संजालका भित्ताहरूमा भेटिएकी उनी। झट्ट हेर्दा अलि बाङ्गो बाङ्गो मान्छेको रुपमा बुझ्थे म। परपरैबाट न नजिएका आँखाको भाखाले। जब बिस्तारै बोलीचाली सुरु भयो सामाजिक संजालका साहित्यिक पलेटीहरूमा आज भन्दा भोलि सोझो सोझो लाग्न थालिन। यो क्रम बढ्दै जानेक्रममा अँचेल एउटै कोखको बहिनी झै लाग्छिन।खासमा साक्षात्कार त अझैपनि भएको छैन। अवसर जुरेको छैन, पारिवारिक रुपमा अन्तरघुलित हुने साहित्य प्रेमी बहिनीको रुपमा चिन्छु।

यही कडिलाई समातेर उनले मलाई माइती स्विकारिन, मैले बहिनी अनि सुरु भयो दाजु बहिनीको जुहारी यो कडिमा पहिलो इटा कस्ले थप्ने भनेर, आखिर उनी नै पहिलो भइन, उनीले मलाई जितिन। दशै, तिहार सुरु हुनु अगावै सन्दुस भरी तिहारको कोसेली, आफ्नै हातले उनेका शब्द, वर्ण, बिम्ब, भावका सयपत्री-मखमली पठाएर तर म अल्छी भनौ कि लोभी भर्खर खोल्दैछु तिहार अघिको कोसेली। मन पराएको बस्तुमा मैलो नलागोस् भने।

जब सन्दुस खोले हर्षाँसुले निथरुक्क भएँ म। लाग्यो राजधानी केन्द्रित सत्ताको सौतिने ब्यवहारले थलिएको सुदूरको चेलीको यो प्रयाश साँच्चै प्रशंसनीय छ र धन्यबाद भन्न मन लाग्यो “सारथि साहित्य परिवार”लाई सन्दुसको सुडेँनी अर्थात प्रकाशकको भारी खेपेर कलमकारको होत्सेमा हैसे गरीदिनु भएकोमा।

पहिलो त सन्दुस शब्दले नै लोभ्यायो। हाम्रा पुर्खाद्वारा प्रयोग गरिएका पौराणिक चिज बस्तुहरू, लोप हुँदै गैरहेको आजको आधुनिक परिबेशमा भलै सन्दुस/सन्दुक शब्द माथी अनुसन्धान कर्ताका राय एकाकार हुन नसके पनि यो सोधको बिषय हो, चलोस, चलिरहोस। यो बिषयमा छुट्टै बहस गरौला कुनैबेला यतिबेला सन्दुसकै कोसेली तिर लागौ। पढौ उनकै कलमको आवाज:-पहिलो कोसेलीको रुपमा अन्तिम पेज १०२बाट
बोल्ने एक गर्ने अर्कै यस्तै यस्तै जमात थियो।
हामी बिचको पर्खाल,समाज अनि जात थियो।।

यसरी यथार्थ धरातलमा उभिएर मिहिन व्यंग्य छेडदै,खुब मजाले गजलकारले शब्दको तागत उजागर गर्नु भएको छ र नराम्ररी गिज्याउनु भएको छ। आजको २१ सौँ शदीमा पनि जातिय बिभेदको पसुवत धारणालाई यसो हेर्दा कलमकारको परिबर्तनगामी चेत पनि उजागर भएको आभास हुन्छ। यी शब्दहरूको उकाली ओरालिमा र फेरि, आजको घर ब्यावहार र फेरिएको सासू-बुहारीको सम्बन्ध यानेकी आजको पारिवारिक अन्तर्बिरोधलाई पनि उनीले उस्तै शशक्त ढङ्गले पस्केकिछिन ।

उनको एक शेर:-
बुहारीलाई मंगलसुत्र बनाइन आमाले तिलहरी बेचेर।
श्रीमती च्यापेर छोरो सहर पस्यो बा को पगरी बेचेर।। ( पेज नं ९७)
यहाँ पनि सरल तर मजैले खनिएकी छिन उनी युगका कर्णधारहरूको उल्टो हिडाई प्रती सत्ता, शक्ति प्रती झन अनुदार देखिन्छिन। हुन त उदार हुने ठाउँ पनि राखेको छैन सत्ताले। भन्छिन:-
“जनताको सुरक्षा छैन, कठै यो धुर्त सरकारको भर छैन।
बलत्कारी लुकाउने, निर्दोष फसाउने लाचारको भर छैन।।” (पेज नं ७८)
“माटो पानी जंगल बेचेर खायो दुख लाग्छ।
देश चलाउनेले महल ठड्यायो दुख लाग्छ।।” ( पेज नं ४४)
ठ्याक्कै हाम्रो साझा भोगी भोगाईको झझल्को दिएकि छिन् ।

प्रकृति, प्रेम, पर्खाई र दुखाईका बारेमा पनि सरस भएर बोलेकी छिन सायर, उनका शेर पढ्दा यस्तो लाग्छ, यी घाउ मेरै हुन, यी चोट मेरै हुन, त्यो खुसी मेरै हो। यसरी बहकिन्छिन उनी:-
“अदृश्य चोटको बजार लाग्या थियो।
तमासा भयो बजारमै अनि तन दुख्यो।।” (पेज नं५४)
“तल काली सलल माथी माइकाथानको बिच।
बसेको हो प्रेम छुट्छ भन्ने जानाजानको बिच।।” (पेज ३९)

पुँजीवाद भोगचलन समेतको बिषयलाई समेत सटिक ढंगले प्रस्तुत भएकीछिन। सायर, समाजबाद र समानताको नाममा आँखै अघाडी भोकापेटहरूका घोडा चढेर शिखर चढेको पुँजीवाद र मुट्ठीभर पुँजिपन्थिहरूको शिखर यात्रा प्रती अमिलो मुख पार्दै र भन्छिन:-
“भोलि जस्तै हिजो फर्केर आज आएन।
सन्दुस बेचेको पुरै पैशाले दराज आएन।।”
आखिर यिनै हत्केलाहरू हुन,सन्दुस बनाउने अनि दराज बनाउने पनि तर सन्दुस पनि अरुकै, दराज अरुकै, पैशा पनि अरुकै, हत्केलामाथी केवल ठेला मात्रै।

यसरी, हरेक क्षेत्र, बर्ग, लिङ्ग, देश, दुनियाँ साधसिमाना बारेमा बिन्दास बोलेकीछिन गजलकार, समाज रुपान्तरणको निम्ति युद्धरत एक कुशल छापामार जस्तो। लाग्छ, समाज रुपान्तरको चेत ओतप्रोत छ उनिमा। जेहाद छेडेकी छिन, बिभेद्धका बिरुद्द, पतिबर्तन खातिरड शब्द शब्दमा साउती मारिरहेको छ प्रेम, प्रश्न गरिरहेको धोकेबाजहरूलाई। सुरुमै सान्दार ढंगले आएको छ गजलकार कोपिलादेवी शर्मा ज्युको, साहित्य सिर्जनाको कोसेली, गजल संग्रह सन्दुस।

हो मानबिय त्रुटिका समस्या अवस्यै छन, कही कही पढ्न, बुझन नी असजिलो पनि पारेको असुद्धीका कारण गजलकै सवालमा पनि कतै कतै जबर्जस्ति गाँठो पारिएको जस्तो आभाष हुन्छ। कही कतै एउटै गजलमा भावात्मक अन्त्तर्बिरोध जस्तोजस्तो नी देखिन्छ। र पनि सुदूरको पर कुनाबाट सुदूरको चेलीको यो साहास, साहित्यको प्रतिको लगाव, यति मीठो कोसेली पाएपछि यी साना मसिना कम्जोरी नजर अन्दाज गरिदिए मैले । मैले उल्लेख गरेका कमि भोली अर्थात आगामी दिनका लागि सुझाव मात्र हुन।

अब धेरै बोल्दिन, धेरै बोल्नु पनि हुँदैन म जस्तो सानो साहित्यिक पाठकले। यति चाहिँ नभनी मनै मानेन हार्दिक बधाई, कोपिलादेवि शर्मा, कल्पु चेली सिखर यात्राको कामना “बोल्दा देश नलाहोस्, हिडदा ठेस नलागोस्। लेखिरहनु निरन्तर निरन्तर।।

अन्तमा:-शेर सापटी सन्दुसबाटै
के सम्भव छैन भन्छ आजको बैज्ञानिक युगमा।
डाक्टरले पीडा र बिज्ञानले मन पढेको देखिन्न।।

यता सुन! कोपिला मासेर फल खोज्ने दुष्ट हो।
बोटमा फुल नफुली कतै फल फलेको देखिन्न।।


एमपी पाण्डे
अछाम।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय