दार्चुला । बिहीबार जिल्लाका नौ वटै स्थानिय तहहरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ । वैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचनका लागी निर्वाचन अधिकृतको कार्यालय स्थापना हुन लागेको दार्चुलाका निर्वाचन अधिकारी प्रदिप सिंह धामीले जानकारी दिए ।

निर्वाचन सम्पन्न गर्न निर्वाचन अधिकृतहरुलाई १ दिने तालिम प्रदान गरी सम्बन्धित कार्य क्षेत्रमा पठाउने तयारी भईरहेको उनले वताए । वैशाख २ गते सुदुरपश्चिम प्रदेशको धनगढीमा उनिहरुलाई तालिम प्रदान गरिएको थियो । दार्चुलामा निर्वाचन अधिकृतको जिम्मेवारी प्राप्त गरेका केहि निर्वाचन अधिकृतहरु जिल्ला आइ पुगेको तथा केहि आउने क्रममा रहेको बताइएको छ ।

जिल्लाको महाकाली नगरपालिकामा जिल्ला न्यायाधिस एवं मुख्य निर्वाचन अधिकृत कोमल प्रसाद आचार्यले निर्वाचन गराउने तथा अन्य स्थानिय तहहरुमा निर्वाचन अधिकृतको जिम्मेवारी प्राप्त गरेका निर्वाचन अधिकृतहरुले निर्वाचन गराउने उनले वताए ।
दार्चुलामा सात गाउँपालिका तथा दुई नगरपालिका गरी नौ वटा स्थानिय तह रहेका छन् । जिल्लामा ८८ हजार २ सय १५ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा करिब १ करोड ७९ लाख मतदाता रहने निर्वाचन आयोगको आकलन छ । यसअघिको स्थानीय तह निर्वाचनमा १ करोड ४० लाख मतदाता थिए । आयोगले पछिल्लो पटक गत वर्षको पुसमा अद्यावधिक गरेको मतदाता नामावलीमा १ करोड ६२ लाख मतादाता पुगेका छन् । देशभरका ७५३ स्थानीय तहमा एकसाथ हुने यस्तो निर्वाचन यसअघि २०७४ सालमा तीन चरणमा भएको थियो ।
नयाँ संविधानले परिकल्पना गरेको तीन तहको सङ्घीय संरचना बनेपछि २०७४ वैशाख ३१ गते पहिलो चरणको स्थानीय निर्वाचन भएको थियो । जिल्लामा १ सय १० वटा मतदान स्थल तथा १ सय ३९ वटा मतदान केन्द्रहरु रहेका छन् । निर्वाचनमा पुरानै मतपेटिका प्रयोग गरिने पनि जनाइएको छ । त्यस्तै स्थानीय तह चुनावमा खटिएका निर्वाचन अधिकृत र निर्वाचन कार्यालयको सुरक्षाको जिम्मा सशस्त्र प्रहरीले पाउने भएको छ ।
सशस्त्र प्रहरीले आफ्नो निर्वाचन सुरक्षा योजना केन्द्रीय निर्वाचन सुरक्षा समितिमा पठाएर पास भएपछि जिल्ला र तालिम केन्द्रहरूमा त्यसैअनुसार तालिम दिइरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिए । निर्वाचनमा सशस्त्र प्रहरी बलले दोस्रो घेरामा रहेर सुरक्षा दिने भएको छ । सशस्त्रले निर्वाचनको समयमा फौजलाई कसरी परिचालन गर्ने भन्ने एकीकृत योजनासमेत बनाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाका एसपी त्रिभुवन विष्टले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय