काठमाण्डौँ । वैशाख ३० गते शुक्रवारका लागि हुने पालिका चुनावको तयारी पूरा भइसकेको छ । केन्द्रबाट गर्नुपर्ने सबै तयारी सकिएको छ । केन्द्रले जिल्लामा पठाउनु पर्ने सबै सामग्री पनि पठाइ सकिएको छ। सबै नीतिगत निर्देशन अनि मतपत्र पनि गइसकेको छ । त्यसकारण अहिले जिल्लामा कार्यचाप बढेको छ ।
निर्वाचन कार्यालयले चुनावका लागि चाहिने सबै ५८ प्रकारका सामग्रीको छुट्टाछुट्टै प्याक बनाएर मतदान अधिकृतलाई बुझाउने अथवा बुझाउँदै गरेको अवस्था छ भने अर्कोतर्फ मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम धेरै ठाउँमा सम्पन्न भइसकेको छ भने कतिपय ठाउँमा नजिकको मतदान अधिकृतलाई तालिम दिने र सामग्री बुझाउने काम हुँदैछ ।
अर्कोतर्फ मुख्य निर्वाचन अधिकृतको कार्यालयले पनि तालिम सञ्चालन गर्ने, संयोजन गर्ने तथा केन्द्रबाट गएका मतपत्रहरु मतदान केन्द्रगत रुपमा प्याकिङ गरेर मतदान अधिकृतलाई बुझाउने काम भएको छ। मतदान केन्द्रमा चाहिने कर्मचारीहरु खटाउने, मतपत्र बुझाउने, चुनावका लागि आवश्यक सामग्री मतदान टोलीलाई बुझाएर मतदान केन्द्रतर्फ लाग्ने काम भइरहेको छ । साथै जिल्लाबाट आचारसंहिताको अनुगमन पनि भइरहेको छ ।
साभारः उज्यालो
