सुनसरी । ठूला राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसका धरानमा नाम चलेका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्रबाट मेयरमा विजयी हुनुभएका हर्कराज राई (साम्पाङ) ले उपमहानगरपालिकाको महँगो गाडी प्रयोग नगरि जनताको सेवा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले जनताको सेवक भएकाले महँगो गाडी नचढ्ने र आफूसँग भएको पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्ने बताउनुभएको छ । ‘म करोडौँ पर्ने गाडी चढेर हिँडे भने बाटोका खाल्डा र भत्केका सडक देखिँदैनन्, त्यसैले म सडकमै हिँडन चाहन्छु, किनकि ती भत्केका खाडल पुर्नेछु, बिग्रिएका बाटो मर्मत गर्नेछु’, उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ ।
धरानमा सामाजिक सरोकारका विषयमा आवाज उठाउँदैँ आउनुभएका राईले सामाजिक सञ्जालबाटै समस्या परे फोन गर्न आफ्नो निजी नम्बर पनि दिनुभएको छ । ‘पानी नआउने, लाइन नआउने, बेथिति र अनियमितता भएको अवस्था छ, भने मलाई कल गर्नु होला (९८१९०१२३७१ र ९७४६९६५१९८), तपाईँको सेवक, जय धरान’, उहाँले भन्नुभएको छ ।
उपमहानगरपालिका प्रशासन महाशाखाअन्तर्गत स्टोर विभागले मेयरका लागि को १ ज ६४० नम्बरको जीप तयारी अवस्थामा राखिदिएको छ । चालक पनि तयारी अवस्थामा रहेका छन् । यस्तै उपमेयरका लागि पनि गाडी तयारी अवस्थामा राखिएको प्रशासन महाशाखा प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिनुभयो । ‘हामीले उहाँहरूले पाउने सेवा सुविधा तयारी अवस्थामा राखेका छौँ, सुविधा लिने वा नलिने भन्ने उहाँहरूको इच्छा हो’, अधिकृत खतिवडाले भन्नुभयो । हिजो मङ्गलवार पदभार ग्रहणपछि मेयर राई उपमहानगरपालिका पुग्नुभएको छैन । आफू जनताका आधारभूत र अति आवश्यक समस्या समाधान नभएसम्म फिल्डमै हुने मेयरमा विजयी हुनेबित्तिकै उहाँले घोषणा गर्नुभएको थियो ।
