दार्चुला । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जिल्ला समन्वय समिति (जिसस) दार्चुलाका पदाधिकारीले बुधवार पद तथा गोपनियता शपथ लिएका छन् । जिल्ला समन्वय समितिका लागि सोमवार निर्वाचन भएको थियो ।
जिल्ला समन्वय समिति दार्चुलाको प्रमुख, उपप्रमुख र सदस्य सबै पदका लागि निर्वाचन भएको हो ।
जिल्ला समन्वय समिति प्रमुखमा गठवन्धनबाट नेपाली काँग्रेसका महादेव बडू (काश्यप) उपप्रमुखमा माओबादीका अमर सिह ठगुन्ना लगायत ७ जना सदस्यले बुधवारनै पद तथा गोपनियताको शपथ लिएका छन् । दार्चुलामा समिति गठन गर्न सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेका थिए ।
सोही गठबन्धनका कारण जिल्ला समन्वय समितिमा प्रतिपक्षी दल नेकपा एमाले क्लीन स्वीप भएको छ । जिल्ला समन्वय समितिको कार्यालयमा आयोजित कार्यक्रमकाबीच मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश कोमल प्रसाद आचार्यले जिसस प्रमुख बडूलाई पद तथा गोपनियताको शपथग्रहण गराएका हुन् ।
जिसस दार्चुलाको कार्यालयमा पदभार ग्रहण गर्दै प्रमुख बडूले समग्र जिल्लाको विकासको लागि सबै स्थानीय तह, राजनीतिक दल, सरोकारवालाहरुसँग समन्वय गर्ने बताए । उनले विकास तथा जनताको परिवर्तनमा दल विशेष हेरिन नहुने बताए ।
प्रमुख बडूले उपप्रमुख ठगुन्ना लगायत सबै सदस्यलाई पद तथा गोपनियताको शपथग्रहण गराएका हुन । सदस्यहरु खड्क सिह धामी, पुष्कर सिह धामी, बल्देव सिह ठगुन्ना, सरस्वती सार्की गौरी टमटा, अस्मिता टमटा र कमला सुनार हुन ।
जिल्ला समन्वय समितिको प्रमुखका लागि गठबन्धनबाट नेपाली कांग्रेसका महादेव बडू (कश्यप) को उम्मेदवारी परेको थियो भने एमालेबाट पुरन सिंह बुढाथोकीको उम्मेदवारी परेको थियो । यस्तै उपप्रमुख पदका लागि गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अमर सिंह ठगुन्नाको उम्मेदवारी परेको थियो भने एमालेबाट नारन्ती तोलीगाई (महता) को उम्मेदवारी परेको थियो ।
यस्तै खुला तीन सदस्यका लागि गठबन्धनबाट नेपाली कांग्रेसका खडक सिंह धामी,पुस्कर सिंह धामी र बल्देव सिंह ठगुन्नाको उम्मेदवारी परेको थियो भने एमालेबाट नरेन्द्र सिंह कुवर , भुवन सिंह धामी र रमेश बोहराको उम्मेदवारी परेको थियो । यस्तै तीन महिला सदस्यका लागि नेपाली कांग्रेसका सरस्वती सार्की तथा माओवादी केन्द्रका गौरी टमटा र अस्मती टमटाको उम्मेदवारी परेको थियो ।
यस्तै एमालेबाट अम्बीका नेपाली, तुलसी देवी डांगा र पावर्ती देवी धामीको उम्मेदवारी परेको थियो । यस्तै एकजना दलित सदस्यका लागि नेपाली काग्रेसबाट कमला सुनार र एमालेबाट पावर्ती पार्कीको उम्मेदवारी परेको थियो । नौ वटा स्थानीय तह रहेको दार्चुलामा समन्वय समितिका लागि १८ मतभार थिए । जिल्लामा नेकपा माओवादी केन्द्रको ४ स्थानीय तह प्रमुख र दुई स्थानीय तह उपप्रमुख सहित ६ मतभार थियो भने नेपाली कांग्रेसको चार वटा स्थानीय तह उपप्रमुखसहित ४ मतभार थियो । नेकपा एमालेको ५ स्थानीय तह प्रमुख र तीन स्थानीय तह उपप्रमुख सहित ८ मतभार रहेको थियो । यसरी गठबन्धन दलको मतभार १० र नेकपा एमालेको मतभार ८ रहेको छ । जसअन्तर्गत गठवन्धनले १० मत प्राप्त गर्दै पुरै प्यानल सहित बिजयी भएको हो ।

