काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसालले कम्युनिष्ट पार्टीहरू विभाजन हुँदा कांग्रेसलाई त्यसको लाभ मिलेको बताएका छन् । उनले अहिले कम्युनिष्टको तेलमा कम्युनिष्टको धुलाई गर्दै कांग्रेसले शासन गरिरहेको बताए । बुधबार काठमाडौंमा भएको नेपाली कम्युनिष्ट आन्दोलन र अबको बाटो विषयक विचार गोष्ठीमा बोल्दै नेता भुसालले केपी ओली र प्रचण्डबीचको गोप्य सम्झौताका कारण जुटिसकेको कम्युनिष्ट आन्दोलन फेरि विभाजनको सिकार बनेको बताए ।
‘आज संसद्का पहिलो पार्टी कम्युनिष्ट, तेस्रो पार्टी कम्युनिष्ट, पाँचौं पार्टी पनि कम्युनिष्ट, छैटौं, सातौं, आठौं पनि कम्युनिष्ट पार्टीहरू नै पाउन सक्नुहुन्छ,’ उनले अघि भने, ‘हामी त कस्तो संकटको अवस्थामा छौं भने अहिले कम्युनिष्टकै तेल लगाएर कम्युनिष्टको धुलाई गर्दै कांग्रेसले शासन गरिरहेको छ । अनि म पनि यो त भएन भन्दैछु, उता प्रचण्डजी पनि भएन भन्दै हुनुहुन्छ ।’
भुसालले दुई नेताले गोप्य सम्झौता गरेर त्यसको पालना हुन नसक्दा संसद्माथि आक्रमण भएको बताए । ‘दुई जना नेताले पालैपालो प्रधानमन्त्री र अध्यक्ष हुने भनेर गोप्य हस्ताक्षर गरे, त्यो सहमति पार्टी र कार्यकर्तालाई थाहा दिएनन् । अनि त्यो दुई वर्षसम्म गोप्य राखियो । त्यो ठाउँमा पुगेका जिम्मेवार नेताहरूले गर्ने काम त्यो हो र रु आखिर विभाजन कहाँ रहेछ त रु,’ भुसालले प्रश्न गर्दै भने, ‘जब त्यो पत्र बाहिर आयो, त्यसपछि त हो, विभाजन भएको । हामीले कचिंगल गर्यौँ, गर्यौँ । तर, गोप्यवाला कुरा समाधान भएन, त्यसपछि हामीले संसद् नै हान्दियौँ, अवस्था यही न हो ।’
उनले स्थानीय तह निर्वाचनमा वाम जनमतकै बाहुल्यता देखिएको भन्दै एकताकै अवस्थामा रहेको भए ५७५ सिटभन्दा बढी जित्ने अवस्था रहेको सम्झिए । नेता भुसालले कम्युनिष्टहरूका माझमा अझै पनि एकता वा सत्यानासको विकल्प रहेको बताएका छन् । ‘हामी एकता वा सत्यानाश भन्ने विकल्पमा अल्झिरहेका छौँ । अनि अमेरिकाबाट सेना ल्याउँछु भनेर गोप्य सम्झौता गर्दै गरेको कांग्रेसले शासन गरिरहेको छ, अब त्यो स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) नेपालमा लिएर आउने र चीनको आँगनकै नजिकमा लगेर सर्पको खेती गर्ने । अनि त्यो विषालु सर्पले उत्तरतिर फाँ–फाँ, फु–फु गर्नेछ,’ उनले भने, ‘त्यसपछि चीनले पनि केही गर्ला । अनि हाम्रो हालत अहिलेको युक्रेनको जस्तो हुनेछ । हामीलाई युक्रेन बनाउँदैछन् । हाम्रै इतिहासमा हेर्ने हो भने अर्को खम्पा विद्रोह गराउँदैछन् ।’
उनले अमेरिकाले एसपीपीमार्फत खम्पा विद्रोहको अर्को मिसन अगाडि सारेको बताए । ‘खम्पा विद्रोह ०३२ सालको हो । त्यो बेला हामी बालबाल बचेका हौं । अमेरिकाको त्यो मिसन असफल भएको थियो । अहिले खम्पा दुईको मञ्चन गर्ने तयारी देखिँदैछ,’ उनले भने ।
उनले संगठन फरक(फरक भए पनि अहिले पनि कम्युनिष्ट नेता कार्यकर्ताबीच एकताको आवश्यकताको महसुस भएको अवस्था रहेको बताए । न विचारमा फरक छ, न कार्यदिशामा भिन्नता छ, खाली एकताको प्रयास गर्ने मान्छेहरुको खाँचो देखिरहेको छु, सीमित स्वार्थभन्दा बाहिर आउने हो भने अहिले पनि कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अवस्था छ, म त्यो सम्भावना देखिरहेको छु, उनले भने, आज हामीले लिएको जबजको सिद्वान्तले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध हुनका लागि रोक्छ जस्तो लाग्दैन । यदि रोक्छ भने जबज कुनै सिद्वान्त हुन सक्दैन । कान्तिपुर
