दार्चुला :नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले आगामी निर्वाचन लक्षित अभियानका लागि दार्चुलामा केन्द्रीय सदस्य यज्ञराज जोशीलाई खटाएको छ । ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने क्रममा दार्चुलामा कञ्चनपुरका नेपाली कांग्रेस केन्द्रीय सदस्य जोशीलाई खटाएको हो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी कांग्रेसले तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउँदैछ । भदौ १० गतेदेखि सुरू हुने अभियानका लागि केन्द्रीय कार्यालयले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको हो ।
प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी देशव्यापी रूपमा अभियान सञ्चालन गर्न लागेको बताउनु भएको छ । जिल्लामा भदौ १० गते देखी २४ गते सम्म अभियान संचालन गरिने नेपाली कांग्रेस दार्चुलाका नेता मदन गिरीले जानकारी दिनभुयो । केन्द्रीय कार्यसमितिको तालिका अनुसार अभियान तीन चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा भदौ १० देखि बीपी जयन्तीसम्म, दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्ता भएपछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि जनताको घरदैलोमा पुगेर राष्ट्रिय राजनीतिका समस्या र कांग्रेसका एजेन्डाबारे प्रचार प्रसार तथा संगठन सुदृढीकरणको काम हुनेछ । कांग्रेसले केन्द्रीय प्रतिनिधिहरूलाई अभियान सुरू हुनुभन्दा दुई दिन अगावै सम्बन्धित जिल्ला पुगेर अभियानलाई सफल बनाउन निर्देशन समेत दिएको छ ।
केन्द्रीय प्रतिनिधिहरू सम्बन्धित जिल्लामा कम्तिमा पाँच दिनसम्म कार्यक्रमहरूमा सहभागी हुनुपर्नेछ । नेपाली कांग्रेसले खटाइएका प्रतिनिधिहरुलाई सम्बन्धित जिल्लामा गठबन्धन दलहरूबीच समन्वय र सहकार्यको स्थिति कस्तो छ भन्ने मूल्यांकन गरी थप सहजीकरण गर्न समेत निर्देशन दिएको छ । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा यज्ञराज जोशी, बाजुरामा अर्जुनजंग बहादुर सिंह, बझाङमा गोविन्द बहादुर शाह, डोटीमा नृपबहादुर वड, अछाममा रणबहादुर रावल, बैतडीमा नेता रमेश लेखक, डडेलधुरा ईश्वरी न्यौपाने, कञ्चनपुरमा रामजनम चौधरी र कैलालीमा एनपी साउदलाई केन्द्रीय प्रतिनिधि खटाएको जनाएको छ ।
