काठमाण्डौ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुणस्तरीय स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रजातन्त्रवादी चिकित्सक सङ्घले आज शनिवार काठमाण्डौमा आयोजना गरेको सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले संविधानले स्वास्थ्य र शिक्षा क्षेत्रलाई मौलिक अधिकारका रूपमा ग्यारेन्टी गरेको बताउनुभयो ।
‘समृद्ध नेपाल निर्माणमा स्वास्थ्य क्षेत्रको महत्त्वपूर्ण भूमिका छ, यसलाई सरकारले प्राथमिताका साथ बजेट विनियोजन गरेको छ’, प्रधानमन्त्री देउवाले भन्नुभयो । आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक स्रोत साधनको व्यवस्थालाई सरकारले प्राथमिकता दिएको उहाँले उल्लेख गर्नुभयो । उहाँले कोभिड–१९ को समयमा चिकित्सकले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै कोरोना महामारीको समयमा खटिएका चिकित्सकलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।
सरकारले चिकित्सा शिक्षालाई सस्तो, सुलभ र सबैको पहुँचमा पु¥याउन काम गरिरहेको उहाँको भनाइ थियो । प्रधानमन्त्री देउवाले ग्रामीण क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य र सहज उपचार पाउने गरी सरकारले काम गरिरहेको बताउनुभयो ।
