दार्चुला : गठबन्धन सम्बद्ध उम्मेदवारहरु राष्ट्रकै सातौँ धाम मालिकार्जुन पुगेका छन् । मालिकार्जुन मन्दिरमा लाग्ने जात्राको अवसरमा दर्शन गर्न र मतदाता भेटघाटका लागि लोकतान्त्रिक बाम गठबन्धनकातर्फबाट प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडू, प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार विक्रम सिंह धामी, प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेदवार मान बहादुर धामी लगायत गठबन्धनका समानुपातिक उम्मेदवारहरु त्यहाँ पुगेका हुन् ।
जात्रा अवलोकनका लागि हजारौ भक्तजनहरुको मन्दिरमा भीड लागिरहेको छ । मालिकार्जुनमा पूजाआजा र दर्शन गर्दै उम्मेदवारहरु मतदातासँग भेटघाट गरिरहेका छन् । शैल्यमालिकार्जुन धामलाई हिन्दू धर्मावलम्बीहरुको आस्थाको धरोहर मानिन्छ ।
प्रतिनिधि सभा सदस्य उम्मेदवार दिलेन्द्र प्रसाद बडूले मालिकार्जुनलाई राष्ट्रिय धामका रुपमा विकास गरेको तथा बजेट विनियोजन गरी थप परिचित बनाउन सहयोग गरेको भन्दै उहाँलाई स्थानीयहरुले भव्य स्वागत गरेको नेपाली काँग्रेस दार्चुलाका प्रदेश समिति सदस्य मदन गिरीले जानकारी दिए । मतदाता भेटघाटका क्रममा बर्तमान उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले मालिकार्जुन धामलाई देश तथा विदेशका हिन्दुधर्मालम्बीको आस्थाको धरोहर बनाउन र दर्शन गर्न आउन बनाउने प्रतिवद्धता जनाए ।
यस्तै जगतगुरुका प्रवत्तासमेत रहेका प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार विक्रम सिंह धामीले उम्मेदवार बन्नुभन्दा अगाडी नै मालिकार्जुनमा ज्योतिलिंग स्थापना गरी पर्यापर्यटन र धार्मिक तीर्थस्थलका रुपमा विकसित गर्न सहयोग गरेकाले आफूहरुले भोट विक्रम सिंह धामीलाई दिने स्थानीयहरुले बताएको प्रदेश सदस्य गिरीले बताए । supremekhabar
