इलाम । इलाम क्षेत्र नम्बर १ को चुनावी मैदानमा रहेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले निर्वाचन धाँधली भएको आरोप लगाएका छन् । मतगणनाका क्रममा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतसँग निरन्तर पछि पर्दै आएका उनले धाँधली भएको आरोपसहित फेरि मतदानको माग गरेका छन् । मतगणनाका क्रममा सुरुमै ५ सय मत गायब भएको पाइएपछि आफूले त्यसमा विरोध जनाएर फेरि मतदान गर्नुपर्ने मागसहित औपचारिक धारणा सार्वजनिक गर्ने उनले बताएका छन् ।  ‘सुरुमै खसेकोमध्ये ५ मत गायब भएको पाइएपछि मैले विरोध जनाएको हो । खसेकोभन्दा धेरै गणना कसरी भयो?’, उनले भने, ‘अरु कसैले त त्यहाँ राखेको होइन होला? मैले सुरुदेखि नै भनेको छु, यहाँ धाँधली भएको छ ।’ खनालले शनिबार गणना भएको ६ वटा केन्द्रको मतपेटिकामा पनि खसेको भन्दा २६६ बढी मत पाइएको बताएका छन् ।   उनले यसबारेमा प्रमुख निर्वाचन आयुक्तसँग पनि कुरा गरिसकेको बताएका छन् । ‘यसबारेमा प्रमुख निर्वाचन आयुक्तसँग कुरा गर्दा उहाँले कुनै जवाफ दिनु भएको छैन,’ उनले भने, ‘त्यसैले यसमा अब रिइलेक्सनमा जानैपर्छ ।’ उनले धाँधलीका एकपछि अर्को प्रमाण भेटिएको भन्दै अब एकीकृत समाजवादीका प्रतिनिधिहरुले हस्ताक्षर नगर्ने बताए ।  इलाम १ मा अहिले एमाले उम्मेदवार महेश बस्नेत खनालभन्दा २ हजार ४५५ मतले अगाडि छन् । बस्नेतले १८ हजार ५४२ मत ल्याइसकेका छन्। खनालले १६ हजार ८७ मत ल्याएका छन्। खनाल सुरुदेखि नै निरन्तर पछि परिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय