दार्चुला असोज ०३ । विगत लामो समय देखि उद्योग व्यवसाय सञ्चालन गर्दै आईरहेका कृष्णानन्द जोशी एक सफल उद्यमीका रुपमा परिचय दिन सफल भएका छन् । जिल्लाको दुहुँ गाउँपालिका–२ हिकिलामा जन्मेका जोशी ज्योतीसी काम गर्दा गर्दै २०२७ सालबाट आफ्नै स्वविवेकले गाउँघरका वनहरुमा पाइने अल्लो सिस्नाको र भेडा च्याङग्राको ऊन प्रशोधन गरी विभिन्न प्रकारका कपडाहरु उत्पादन गर्न सुरु गरेको बताउछन् । सुरु सुरुमा गाउँमै हातले अल्लो प्रशोधन गरी अल्लोका कपडा उत्पादन गर्दै आएका जोशीले २०३२ सालमा खलंगा झरेर कृष्णानन्द ढाकाटोपी अल्लो उद्योग नाम दिई फर्म दर्ता गरेर व्यवसायलाई निरन्तर दिए । उक्त व्यवसायबाट सोचे भन्दा निकै बढी आम्दानी हुन थालेपछि अहिले अपिनाम्पा अल्लो उद्योग दर्ता गरी उद्योग संचालन गर्दै आएका छन् ।
अल्लोबाट निस्कने लोता ९रेसा० लाई उद्योगमा प्रशोधन गरी अहिले ढाकाटोपी, कोटपाखी, शौल, झोला लगायतका थुप्रै सामग्रीहरु उत्पादन गर्दै आईरहेका छन् । उनले उद्योगमा स्थानिय १० जनालाई रोजगारी दिएका छन् । उद्योगमा उनिहरुले अल्लो, बाँस र ऊनको धागोबाट कपडा उत्पादन गर्ने गर्दछन् । उत्पादित कपडा नेपालका सबै जसो जिल्लाहरुका ठुल–ठुला कर्मचारीहरुले लैजाने गरेका छन् । खासगरी दार्चुलामा पाइने अल्लोको कोट सबैजसो कर्मचारीहरुको रोजाइमा पर्ने गरेको उद्यमी जोशी बताउछन् ।
सुदुरपश्चिमको दार्चुला देखी पुर्वको झाँपा सम्म आफ्नो उत्पादनले बजार पाएको उनि खुसी छन् । पहिले चिनको तिब्बतबाट च्याङग्राको ऊन ९कच्चा० पदार्थ आयात गरेर ऊनका विभिन्न सामग्री उत्पादन गर्ने गरेकोमा कोरोना संक्रमण पछि तिब्बती च्याङग्राको ऊन आउन छोडेको बताउछन् । दार्चुलाको हिमाली भेगबाट आउने अल्लोलाई प्रशोधन गरी अहिले अल्लोका उत्पादनमा बढी जोड दिएको बताए ।
सिस्नो प्रजातीको अल्लो दुहुँ गाउँपालिको कौवालेक, ब्याँस गाउँपालिकाको दुम्लिङ, घाटीवगर, मार्मा क्षेत्रको दल्लेक, खार तथा सुदुरपश्चिमका बाहेका जिल्लाहरु डोल्पा, रोल्पा र प्युठानबाट समते अहिले कच्चा पदार्थ आयात गर्ने गरेको उनि जोशीले बताछन् । उद्यमी जोशीले आफ्नै स्वविवेकले २७ वर्षको उमेरमा पहिलो पटक हातैले बुनेर सिस्नोको सउल गल्बन्दि बनाएका थिए । त्यसपछि कास्की जिल्लाको पोखराबाट १ वर्षे उद्यमी तालीम लिएर उनले दार्चुलामा उद्योग स्थापना गरे ।
पहिले दैनिक ५० देखी ६० हजार बराबरको कारोबार हुने गरेकोमा कोरोना संक्रमण पछि त्यो व्यापार ह्वातै घटेको उनको भनाई छ । ‘पहिले राम्रै व्यापार हुन्थ्यो, कोरोना पछि अहिले दैनिक ३० देखी ४० हजारको मात्रै व्यापार हुन्छ, उनले भने ।’ पहिले भारतका विभिन्न सहरहरुबाट अल्लोको कपाडाको माग आउने गरेको उनि बताउछन् ।
कुसल उद्यमी तथा स्थानिय व्यापारी जोशीले अल्लोबाटै मनग्य आम्दानी गरिरहेका छन् । उनले एक वर्षमा अल्लोका उत्पादनबाटै करोडको हाराहारीमा आम्दानी गर्दछन्, भने सबै खर्च कटाएर ५० लाख बचत गर्दछन् । उद्योगबाटै आफ्नो जिवनलाई सहज रुपमा बिताएका छन । १०÷१२ जनाको परिवारलाई आवश्यक शिक्षा दिक्षा देखी लिएर परिवारलाई पनि खुसी बनाएका छन । उनलाई अधिराज्यभरीका र विदेशका मानिसहरुले समेत सफल उद्यमीका रुपमा चिन्ने गर्दछन् । उद्यमी जोशीले जिल्लाको विभिन्न ठाउँमा र भारतको तमोरी गडवाल, भिमताल, पिपलकोट, जोशीमट र गोपेश्वरका मानिसहरुलाई विभिन्न समयमा उद्योग सञ्चालन तालिम दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय