चितवन । शिक्षण अस्पताल भरतपुर (पुरानो मेडिकल कलेज) मा उपचारका क्रममा महिलाको ज्यान गएपछि अस्पतालमा तनाव भएको छ । चितवनको खैरहनी नगरपालिका–१० बडगाउँकी ३२ वर्षीया शर्मीला हट्वाल उप्रेतीको ज्यान गएपछि आफन्तले अस्पताल घेराउ गरेका हुन् ।
चिकित्सकको लापरबाहीका कारण उप्रेतीको ज्यान गएको आरोप लगाउँदै आफन्तहरूले अस्पताल घेराउ गरेका हुन् । आफन्तले घेराउ गरेपछि अस्पतालमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । मृतकका जेठाजु नमराज उप्रेतीका अनुसार साउन ९ गते ज्वरो र पिसाबसम्बन्धी समस्याका कारण शर्मीलालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
चिकित्सकले हाइडोजको इन्जेक्सन चलाएको र बिरामीलाई समस्या बढ्दै जाँदा चिकित्सक नभएको बेला बिरामीको ज्यान गएको उहाँको आरोप छ । उहाँले भन्नुभयो, ‘अस्पतालको चरम लापरबाहीले सामान्य ज्वरोको बिरामीको ज्यान गएको छ ।’
शर्मीलाको बिहीवार हिजाे बेलुका ज्यान गएकाे हो ।अस्पतालले शव बुझ्न आग्रह गरेपछि आफन्तले बुझ्न अस्वीकार गरेका छन् । यसैबीच अस्पताल प्रशासन र आफन्तबीच आज वार्ता चलिरहेको छ । अस्पताल परिसरमा आफन्तहरूको ठूलो भिड लागेको छ ।
मृतक शर्मीलाका श्रीमान्, १० वर्ष र ६ वर्षका दुई छोराहरू छन् । यस सम्बन्धमा अस्पताल प्रशासनसँग सम्पर्क गर्न खोज्दा कोही पनि सम्पर्कमा आएनन् ।
