जननेताहरू नवधनाढ्य शासकमा परिणत भएपछि वर्गीय धरातल बिर्सिएपछि समाजवादको मोडालिटीभित्र जन्मदारहेछन्, अग्लाअग्ला गगनचुम्बी ‘भ्यु टावर’ हरू ? यखितेर प्रश्न सोध्न मन लागेको छ काठमाडौँको भीमसेन धरहराभन्दा बाहेक मुलुकको कुनचाहिँ भ्यु टावरले आफ्नो लगानीको प्रतिफल निस्कने गरी आम्दानी दिनेछ ? क्रियाशील कुनै पार्टीका नेताहरूसँग यी प्रश्नको वस्तुगत उत्तर छैनन् र हुँदैनन् पनि यतिखेर ।
देशको आवश्यकता के हो भन्ने कुरा गएको केपी ओली नेतृत्वको सरकारले साढे तीन वर्षसम्म बुझ्ने चाहना नै गरेन । उसलाई कसैले सुझाव र सल्लाह दिँदा पनि लिने जाँगर नै देखाएन किनकि उसँग करिब दुई तिहाइको जनमतीय दम्भ जो थियो । त्यो दम्भले नै देशैभरि यस्ता भ्यु टावर उभ्याउने गलत निर्णय गरे कहीँ स्थानीय तहबाट, कहीँ प्रदेशबाट र कहीँ संघीय निर्णयबाट ।
यतिखेर सामाजिक सञ्जालमा देशैभरि करिब ७० वटाभन्दा बढी भ्यु टावरहरू निर्माण भैसकेका र तिनीहरूका भद्दा फोटाहरू सेयर गर्दै विरोध गर्ने लहर चलेको छ । तिलोत्तमा नगरपालिकाको ६ करोड र रोल्पाको ११ करोडको लागतमा निर्माण भएका भ्यु टावरहरू क्रमशः केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबाट एक दिनको अन्तरमा उद्घाटन गरेपछि भ्यु टावरलाई गालीको ट्रोल बनाएर फेसबुकमा भाइरल हुनेक्रम बढ्दो छ । अन्य केहीका उद्घाटन भैसकेका समेत समाचारहरू आएका छन् ।
देशले भ्यु टावर नै बनाउनु हुन्न भन्ने हैन । एउटा लेभलको विकासको फेजमा पुगिसकेपछि देशले यस्ता भ्यु टावरजस्ता कङ्क्रिट विकासका कार्यहरूलाई उच्च प्राथमिकतामा राखेर निर्माण गरिनु पर्दछ ।
तर अहिलेको नेपालको विकासको फेज भनेको स्थानीय तहको उत्पादन वृद्धि, सिप विकास र प्रविधि हस्तान्तरणको समय थियो । त्यसमा जोजो स्थानीय तहका नेता र कार्यकर्ताहरूले आफू जुन–जुन पार्टीबाट निर्वाचित भएपनि भ्यु टावरमा लगानी गरेर तमासे बनेका छन् । हो प्रश्न यहीँ हो कि यो अहिले यस्ता भौतिक विकासको आवश्यकता हो कि होइन ? जनताको चेतनाको लेभल समेत एक तहमाथि उठिसकेकाले भ्यु टावरका बारे ‘ह्वाई’ भनेर चौतर्फी प्रश्नका तीर र गालीका पर्रा छुटेका हुन् । यी भ्यु टावर होइनन् नेताका घिउ टावर पो हुन् ! जनता ठगी खाने भाँडा !
जनताले साग बेचेर कमाएको पैसामा कर तिरेको छ । करको पैसाले मोजमस्ती गरेका छन् । जनताले स्वच्छ खाने पानी खान पाको छैन । खेतबारीमा पउल उत्पादन वृद्धि हुने मल बिउ सजिलो गरी पाको छैन । खेतीयोग्य जमिनमा सिँचाइ छैन । डाँडा डाँडामा तीन न तेह्रका घिउ टावर बनेका छन् । पश्चिमतिर भ्यु टावरमा चढेर बढेको र बाँक्लो घाँस कतातिर छ भनेर हेरिन्छ रे ?
जनताका आवश्यकता एकातिर छन् तर हाँस उठ्दो स्थानीय तहले गर्ने काम अर्कातिर भएका छन् । उभिण्डो सोचले गर्दा अब त गणतन्त्र र संघीयता कस्का लागि ? जनताका लागि कि दुईचारजना भुइँ फुट्टा नेताका लागि भन्ने प्रश्न जन्मिन थालेका छन् । जनताका पक्षमा नभएको संघीयताको के काम ? गाउँ –गाउँमा सिँहदरबार चाहिँ सिँहले देखाउने व्यवहारबाट आएको छ ।
साभारः ईमेज खबर
