दार्चुला । यहि वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा १ हजार भन्दा बढी कर्मचारी खटाइने भएका छन् । निर्वाचन सम्पन्न गर्न जिल्ला भरी १ हजार ८१ जना कर्मचारी खटाइने जिल्ला निर्वाचन अधिकारी प्रदिप सिंह धामीले जानकारी दिनुभयो । कर्मचारी खटाउने बारे आन्तरीक तयारी पुरा भइसकेको उहाले बताउनुभयो । जिल्लाका १ सय १० वटा मतदान स्थल तथा १ सय ३९ वटा मतदान केन्द्रहरुमा उक्त संख्याका कर्मचारीहरु खटाइने बताइएको छ ।

निर्वाचन सम्पन्न गर्नका लागी २७८ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत, २४७ जना सहायक कर्मचारी, १३९ जना कार्यालय सहयोगी र ४१७ जना स्वयम सेवक गरी १ हजार ८१ जना कर्मचारी खटाइने उहाले बताउनुभयो । हाल कर्मचारीहरुको सूची तयार पारीसकेको तथा वैशाख २७ गते भित्र सम्बन्धित मतदान स्थल तथा मतदान केन्द्रहरुमा पुग्ने गरी खटाइने जनाइएको छ ।

जिल्लाको महाकाली नगरपालिकामा जिल्ला न्यायाधिस एवं मुख्य निर्वाचन अधिकृत कोमल प्रसाद आचार्य, ब्याँस गाउँपालिकामा कौशलेश्वर ज्ञवाली, दुहुँ गाउँपालिकामा बुद्धिलाल श्रेष्ठ, मालिकार्जुन गाउँपालिकामा ओम प्रसाद भट्टराई, लेकम गाउँपालिकामा ज्ञानेन्द्र पराजुली, शैल्यशिखर नगरपालिकामा हरि सिंह धामी, नौगाड गाउँपालिकामा गोबिन्दराज सेदाई, मार्मा गाउँपालिकामा लवराज जोशी र अपिहिमाल गाउँपालिकामा दिपक ज्ञवाली निर्वाचन अधिकृत भएर खटि सक्नु भएको छ । जिल्लामा ८८ हजार २ सय १५ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय