काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष र सोही आयोगका चितवन जिल्ला अध्यक्ष तथा विभिन्न संस्थालाई निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको जनाउँदै तीन दिनभित्र स्पष्टीकरण पेश गर्न पत्र पठाएको छ ।
आयोगले आज प्रेषित गरेको पत्रमा राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र भूमि आयोग चितवन जिल्ला समितिका अध्यक्ष बद्री तिमिल्सिनालाई विभिन्न अनलाइन सञ्चारमाध्यममा यही वैशाख २३ गते ‘भरतपुरमा मतदाता प्रभावित पार्न बाँडियो निस्सा, आचारसंहिता उलङ्घनको उजुरी दिने तयारी’ शीर्षकमा प्रकाशित समाचारका आधारमा स्पष्टीकरण सोधिएको हो ।
सो समाचारमा आचारसंहिताविपरीत मतदातालाई प्रभावित पार्न भरतपुर महानगरपालिका–११ गणेस्थानमा भूमिको निस्सा बाँडेको उल्लेख छ । आयोगमा प्राप्त उजुरीमा सो वडाका सुकुम्बासी र भूमिहीनलाई भूमिको निस्सा बाँडेको पाइएकाले उक्त कार्य तत्काल रोकी आवश्यक छानबिन गरी निर्वाचन आचारसंहिताविपरीत कार्य भएमा सजाय पाउँ भन्ने माग रहेको छ ।
साभारः news24
