धनगढी । कैलालीको धनगढीमा मुटुरोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
नेपाल हृदयरोग निवारण प्रतिस्ठान कैलालीको आयोजनामा मुटुरोगबारे सचेतना ल्याउन अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

प्रतिष्ठानका कार्यबाहक अध्यक्ष कृष्ण बोहराको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य डिल्ली राज पन्त रहेका थिए ।

प्रतिनिधि सभा सदस्य पन्तले मुटुरोगबारे आम नागरिकलाई जागरुकता नहुँदा समस्या बढ्दै गईरहेको बताए । ‘अहिलेको अवस्थामा स्वास्थ्यको समस्या निकै बढ्दै गइ रहेको छ । जसमा मुटु रोगको पहिचान कम हुन्छ’ उनले भने –‘रोगको बारेमा कम मात्रमा थाहा हुन्छ । मुटुरोगका ग्याष्ट्रिकसंग लक्षणहरु मिल्दाजुल्दा हुने हुँदा चिकित्सकको सल्लाह बिना औषधि सेवन गर्ने गरेको पाईएको छ । कोलेस्ट्रोल, उच्चरक्तचाप, मधुमेह जस्ता बिरामीहरुलाई नै मुटु सम्बन्धी समस्या देखिने गर्छ ।’

उनले शरीरको सबै भन्दा महत्वपूर्ण अंगको रुपमा रहेको मुटुलाइ स्वस्थ्य राख्नका लागि मानिसहरु आफ्नो दैनिक जिवनमा परिवर्तन ल्याउन आवश्यक रहेको बताए । उनले भने –‘विग्रदो खानपान, मानसिक तनाव, कामको चाप लगायतका कारण मुटुसम्बन्धी समस्या बढ्दै गएको छ । यसमा सुधार गर्न सकेमा यो रोगको निवारण सम्भव रहेको छ ।’

कार्यक्रममा मुटुरोग विशेषज्ञ तथा नेपाल हृदयरोग निवारण प्रतिस्ठान केन्द्रिय सदस्य डाक्टर सुमन्त बन्जाडेले नेपालमा रहेका नेपाल हृदयरोग निवारण प्रतिस्ठानहरुले नै गङ्गालाल हृदय रोग निवारण केन्द्र स्थपना गराउनमा सहयोग गरेको बताए । उनले भने –कैलालीमा रहेको प्रतिस्ठानले पनि आफ्ना गतिविधिहरु बढाएमा सुदूरपश्चिममा पनि मुटुसम्बन्धी समस्या निवारण गर्नमा सहयोग पुग्छ ।’

उनले प्रदेशमा मुटुरोग विशेषज्ञको कमि रहेको, निशुल्क रुपमा चेकजाँच नहुनु, रोग सम्बन्धि सचेतनाको कमी लगायतकाकारण निवारणमा समस्या भईरहेको बताए ।

‘हाम्रो समाज अझै पनि यो मुटु रोग ठूलाबडा, हुने खाने बर्गलाइ लाग्ने रोग हो भन्ने बुझाइ रहेको छ’ उनले भने –‘यो रोग नसर्ने रोग हो । रक्सी चुरोटको प्रयोग, शहरीया परिकार, नियमित रुपमा खानाको सन्तुलन नमिल्नु, कामको बोझमा कमी, शारीरिक ब्यायामको कमी, उमेर अनुसार रोगको चेकजाच नहुनु लगायतका समस्या रहेका छन् ।’

सेती प्रार्देशिक अस्पताल वरिष्ठ फिजिसियन डाक्टर शेर बहादुर कमरले विगतको तुलनामा अहिले मुटुरोग रोग लाग्नेहरुको संख्या बढ्दै गइरहेको बताए । ‘नवजात शिशुदेखि वृद्धसम्मलाई पनि यो रोगले छोएको छ’ उनले भने –‘बिरामिको मुटुमा प्वाल पर्नु, मुटुमा भएका भल्वहरु नियमित संचालन नहुनु लगायतले असर पारिरहेको छ ।’

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलय, विभिन्न सघं सस्थाका प्रतिनिधि, नेपाल हृदयरोग निवारण प्रतिस्ठान कैलाली पदाधिकारी र साधारण सदस्यहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय