दार्चुला । जिल्लाको महाकाली नदीमाथि निर्माण गरिएको नेपाल–भारत जोड्ने मोटरेबल पुलको दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेका छन्।
दार्चुलाको महाकाली नगरपालिका–८ स्थित असिगडा र भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाअन्तर्गत धारचुला तहसिलको छारछुम जोड्ने उक्त पुलको नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन्।
नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा नेपालका प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता सम्पन्न भएपछि आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा पुलको उद्घाटन गरिएको हो।
दुई देशका प्रधानमन्त्रीबाटै संयुक्त रूपमा उद्घाटन हुने कार्यक्रम तय भएपछि भारतीय पक्षले पुल क्षेत्रमा आवश्यक साजसज्जा, प्राविधिक उपकरण तथा भर्चुअल माध्यमबाट कार्यक्रम सञ्चालनका लागि आवश्यक तयारी गरेको थियो।
उक्त पुल सञ्चालनमा आएसँगै नेपाल र भारतबीचको सीमा क्षेत्रका नागरिकलाई आवतजावत, व्यापार तथा स्थानीय आर्थिक गतिविधिमा थप सहजता पुग्ने अपेक्षा गरिएको छ।
