दार्चुला : दार्चुला भन्सार कार्यालयले ७ महिनामै लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्ममा कार्यालयले लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको हो । आर्थिक वर्ष २०७९÷८० मा १९ लाख ६८ हजार राजश्व संकलन लक्ष्य रहेकोमा ७ महिनामै लक्ष्यभन्दा बढी २४ लाख ७१ हजार १० रुपैयाँ राजश्व संकलन गरिएको कार्यालय प्रमुख शिवचन्द्र प्रसादले जानकारी दिए । चालू आर्थिक वर्षको फागुन महिनामा सबैभन्दा बढी र कात्तिक महिनामा सबैभन्दा कम राजश्व उठेको छ ।
कार्यालय प्रमुख प्रसादका अनुसार चालू आर्थिक वर्षको साउन महिनामा ३ लाख ५० हजार १ सय ९९ रुपैयाँ, भदौ महिनामा २ लाख ५७ हजार ९२ रुपैैयाँ, असोज महिनामा २ लाख ३२ हजार ८ सय २५ रुपैयाँ संकलन गरिएको छ । यस्तै कात्तिक महिनामा १ लाख ६९ हजार ७ सय १६ रुपैयाँ, मंसिर महिनामा २ लाख ४४ हजार ६ सय २९ रुपैयाँ र पुस महिनामा ३ लाख १३ हजार १ सय ९३ रुपैयाँ, माघ महिनामा ३ लाख ८५ हजार ९ सय १९ रुपैयाँ र फागुन महिनामा ५ लाख १७ हजार ४ सय ३७ रुपैयाँ राजश्व संकलन भएको छ ।
पछिल्लो समय नागरिकहरु करको दायरामा आउँदा राजश्वमा वृद्धि भइरहेको जनाइएको छ । तर व्यवसायिक व्यापारीहरु आफ्नो फर्ममा भने राजश्व बिल नकाट्ने गरेको पाइएको छ । खलंगामा व्यवसाय दर्ता गरी व्यापार गरिरहेकाहरुले व्यक्तिगत रुपमा मात्रै सामानको कर तिर्ने गरेको कार्यालयले बताएको छ ।
