
दार्चुला असोज ०९ । सोसियल भोलेन्टियरस ग्रुप दार्चुलामार्फत दुहुँ गाउँपालिकाका वाढि पहिरो पिडितहरुका लागी ३ लाख ९५ हजार बढी आर्थिक सहयोग संकलन भएको छ । अधिवक्ता कृष्ण महराको नेतृत्वमा देश, विदेशमा रहेका सहयोगी मनहरुले बाढी पहिरो पीडितका लागि तीन लाख ९५ हजार ३३ रुपैँया सहयोग गरेका हुन् ।
सोसियल भोलेन्टियर ग्रुप दार्चुलामार्फत स्वस्फुर्त रुपमा शनिबारसम्म आर्थिक, नैतिक र भौतिक सहयोग गरी दुःखको यस घडीमा साथ सहयोग गर्नुहुने स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण व्यक्तिहरुलाई अधिवक्ता महराले हार्दिक आभार एवं कृतज्ञता ज्ञापन गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत आर्थिक हिसाब सार्वजनिक गर्दै महराले बाढी र पहिरोले सारा श्रीसम्पति बगाई उठिबास लगाएको यस दुःखद घडीमा यहाँहरुले मनैदेखि गर्नुभएको सहयोग र दिनुभएको साथप्रति व्यक्तिगत रुपमा म सधैं ऋणी एवं कृतज्ञ रहनेछु लेखेका छन ।
हालसम्म दुहुँका बाढी–पहिरो पीडितका लागि संकलन भएको ३ लाख ९५ हजार तेत्तीस रुपैँया पैसट्ठी पैसा दुहुँबासी आम बाढीपीडित, दुहुँ गाउँपालिका हिकिला, वडा नम्बर २ र ५ लगायत सरोकारवाला अन्य निकायहरुसंगको समन्वय र सहकार्यमा वितरण गरिने उनले वताए । संकलित रकममध्ये अमेरिकाबाट ८९ हजार १६९ रुपैया, मलेशियाबाट ५५ हजार ६२० रुपैया, दुबैईबाट २९ हजार ६५५ रुपैया, जापानबाट १३ हजार ८३७ रुपैया, भारतबाट आठ हजार रुपैया, अष्ट्रेलियाबाट सात हजार नौँ रुपैया, कुबेतबाट दुई हजार रुपैया र बाँकी नेपालबाट एक लाख ८९ हजार ७३५ रुपैया गरेर जम्मा तीन लाख ९५ हजार ३३ रुपैया संकलन भएको महराले बताए ।