उक्त सूचना अनुसार जग्गादानका लागि ५ जग्गादाताका निवेदन परेका थिए । ती निवेदनमध्ये वडा अध्यक्ष शंकर सिंह डोबालका सहोदर दाइ जयधन डोबालको ५ रोपनी जग्गा रहेको खोला किनारमा स्वास्थ्य चौकी भवन बनाउन लागिएको छ । स्थानीय बासिन्दाको विरोधका बावजुत वडाले खोला किनारमा बाढी पहिरोको उच्च जोखिम र सडकले नछोएको ठाउँमा स्वास्थ्य भवन बनाउन लागेको वडा नम्बर ३ का स्थानीयले बताए । यस्तै वडा नम्बर २ र ३ का स्थानीयहरुले संस्थागत रुपमा उक्त ठाउँ उपयुक्त नभएको भन्दै वडालाई निवेदन समेत दिएका छन् ।
बिहीवार महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिर, प्रमुख प्रशासकीय अधिकृत मित्रप्रसाद घिमिरे, नगरपालिकाका ईन्जिनियर रोहित अवस्थी र निर्माण व्यवसायीले स्वास्थ्य चौकी भवन निर्माण हुने क्षेत्रको अवलोकनसमेत गरेका थिए । वडा नम्बर २ सेलामा प्रदेश सरकारबाट प्राप्त अनुदान रकमले चार कोठे स्वास्थ्य चौकी भवन निर्माण गरिन लागिएको हो । बाढीले स्वास्थ्य चौकी भवन बगाएपश्चात अहिले मदन भण्डारी स्मृति प्रतिष्ठानको भवनबाट सेवा दिइदै आएको छ ।
