दार्चुला । सदरमुकाम खलंगामा खानेपानीको हाहाकार भएको छ । खलंगा बजारमा देखिएको खानेपानी समस्या समाधानका लागि सरोकारवालाहरू जिम्मेवार नदेखिएको भन्दै दबाब दिन नागरिक दबाब समुह गठन गरिएको छ ।
महाकाली नगरपालिका-४ खलंगा बजारमा देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि सरोकारवालाहरुलाई सुझावसहित नागरिक दबाब समुहले जिल्ला प्रशासन स्वास्थ्य कार्यालय दार्चुलामा निबेदन दिएकाे छ । नागरिक दबाब समुहका अभियान्ता महेश भट्टले भन्नुभयो, विषय आज वा भोलि पानी आयो कि आएन भन्ने होइन, विषय सबै ठाउँका उपभोक्ताले निरन्तर र प्रयाप्त पानी पाउनु पर्छ भन्ने हो । यसका लागि सराेकारवाला निकायसँग छलफलको आयोजना गर्न पनि अनुराेध गरिएकाे उनले बताए ।
खानेपानी समस्याको दीर्घकालीन समाधान ननिकालिने हो भने खानेपानी समस्या हल हुन सक्दैन तसर्थ नागरिक स्तरबाट निरन्तर दबाब आवश्यक उनले भने, धेरै दिनसम्म खलंगा बजारमा खानेपानी नआउदा समेत सरोकारवालाहरूले ध्यान दिन सकेका छैनन् । यसका लागि सरोकारवाला सबै जिम्मेवार बन्नुपर्ने आवश्यकता रहेको अर्का अभियान्ता भागरथी खत्री धामीले बताए ।

