
दार्चुला असोज ११ । नेपालीहरुको महान चाँड दशैंतिहार नजिकिँदै गएपछि वाहिरी मुलुक भारतबाट घर फर्किने नेपालीहरुको सीमामा भिड लाग्न थालेको छ । जिल्ला सदरमुकाम खलंगाको पुलघाट नाका, दत्तु नाका, लेकमको लाली नाका र ब्याँसको तिगरम नाका भएर अहिले दिनहुँ घर फर्किने नेपाली बढ्न थालेका छन्। भारतबाट घर फर्किनेको सीमामा स्वास्थ्य परिक्षणसमेत गरिन थालेको छ।
असोज यता सय बढी नेपाली खलङ्गा पुलघाट नाका भएर घर फर्किएको नेपाल प्रहरीका पुलघाट इन्चार्ज मनोज खड्काले जानकारी दिए । पुलघाटमा भारतका विभिन्न क्षेत्रबाट फर्किने नेपालीको अहिले तथ्याङ्क नियमित राख्न थालेको उनले वताए । दशै तिहार र खेतीपातीको काम वढेकाले नेपाली नागरीक दैनिक घर फर्किरहेका छन ।
स्वास्थ्य कार्यालयले भारतबाट आउने नेपालीलाई सीमा पुलमै कोरोनाविरुद्वको खोप लगाउन थालेको छ। भारतका विभिन्न क्षेत्रबाट मजदूरी गरि फर्कने नेपालीलाई सदरमुकाम खलङ्गा पूलघाटमा कोरानाविरुद्वको खोप लगाउन थालिएको हो। भारतको धारचुला जोड्ने खलङ्गा पूलघाटमा दशैंतिहारका लागि घर फर्किने नेपालीलाई जोनसोन खोप लगाउन थालिएको जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए । अहिले सीमामा भारतबाट फर्किने नेपाली बढ्दै गएका छन्। आइतबार पूलघाटमा भारतबाट आउने २५ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ। टाढाबाट फर्किएकाको कोरोना परीक्षण तथा कोरोनाविरुद्वको खोप लगाउन थालिएको छ ।