दार्चुला । जिल्लाको अपिहिमाल गाउँपालिका र दुहुँ गाउँपालिकामा अगामी आर्थिक वर्ष २०८०÷०८१ को साउन १ गते देखी पालिका हुलाक कार्यालय स्थापना हुने भएको छ । २०८० साल असार ७ गते नेपाल सरकार सचिव स्तरिय निर्णय अनुसार जिल्लाका दुई स्थानिय तहमा नयाँ (पालिका) हुलाक स्थापनाको तयारी भइरहेको हो ।

पालिका हुलाक स्थापनाका लागि जिल्ला हुलाक कार्यालय दार्चुलालाई असार १२ गते हुलाक सेवा विभागबाट परिपत्र भएको निमित्त हुलाक अधिकृत बिरेन्द्र सिंह धामीले जानकारी दिनुभयो । अगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट, निति तथा कार्यक्रमको बुँदा १०२ मा एक पालिका एक हुलाकको अवधारणा साथै बजेट वक्तव्यको बुँदा नम्बर ३७४ लाई कार्यान्वयन गर्ने गरी हुलाक स्थापनाको तयारी थालिएको उहाले बताउनुभयो ।
नयाँ स्थापना हुने पालिका हुलाक कार्यालयको भवन वा कोठा व्यवस्थापनका लागि सम्बन्धित स्थानिय तह संग समन्वय र अनुरोध गरि साउन १ गते देखी कार्यालयको बोर्ड राखी सेवा सञ्चालन गर्न पत्राचार भएको निमित्त हुलाक अधिकृत धामीले बताउनुभयो ।

पालिका हुलाक कार्यालयको जनशक्ति व्यवस्थापनका लागि हाल जिल्लामा रहेको मौजुदा जनशक्तिबाट कार्य सम्पादन गर्न भनिएको छ । अपिहिमालको खण्डेश्वरी तथा दुहुँ गाउँपालिकाको केन्द्र हिकिलामा नयाँ (पालिका) हुलाक कार्यालयको स्थापना हुने उहाले बताउनुभयो । तत्काल पालिका हुलाक कार्यालयमा खरिदार बस्ने गरी व्यवस्था मिलाइने बताइएको छ ।
जिल्लाका अन्य स्थानिय तहमा रहेका ईलाका हुलाक कार्यालयलाई समेत एकै ठाउँमा गाभेर पालिका हुलाक कार्यालय बनाइने निति सरकारले लिएको उहाको भनाई छ । मालिकार्जुन गाउँपालिकाको जौलजिवी, डाडाकोट र मालिकार्जुनमा रहेका ईलाका हुलाक कार्यालयलाई एकै ठाउँमा गाभेर पालिका हुलाक कार्यालय स्थापना गरिने उहाले बताउनुभयो ।

मालिकार्जुन गाउँपालिकाको पस्तीमा पालिका हुलाक कार्यालय स्थापना हुने बताइएको छ । यस्तै ब्याँस गाउँपालिकाको राप्लामा रहेको ईलाका हुलाक कार्यालयलाई सुन्सेरा सारी पालिका हुलाक कार्यालय बनाइने तथा हुतीमा रहेको ईलाका हुलाक कार्यालयलाई दुहुँ गाउँपालिकामा सारी पालिका हुलाक कार्यालय बनाइने तयारी छ ।
शैल्यशिखरको गोकुलेश्वर ईलाका हुलाक कार्यालयलाई पालिका हुलाक कार्यालय बनाइने छ, भने लेकम गाउँपालिकाको रिठाचौपतामा रहेको ईलाका हुलाक कार्यालयलाई रातामाटा सारी पालिका हुलाक कार्यालयको रुपमा स्थापना गरिने छ ।

मार्मा गाउँपालिकाको लटिनाथमा रहेको ईलाका हुलाक कार्यालयलाई पालिका हुलाक कार्यालय बनाइने छ, भने नौगाड गाउँपालिकाको सिप्टीमा रहेको ईलाका हुलाक कार्यालयलाई गाउँपालिकाको केन्द्र होपारीगाड सारी पालिका हुलाक कार्यालय बनाइने बताइएको छ । जिल्ला सदरमुकाम खलंगाको हकमा जिल्ला हुलाक कार्यालयले काम गर्ने जनाइएको छ ।
जिल्लामा १० वटा ईलाका हुलाक कार्यालय रहेका छन्, भने ३२ वटा अतिरिक्त हुलाक कार्यालयहरु रहेका छन् । जिल्लामा रहेका ३२ वटा अतिरिक्त हुलाक कार्यालयहरु सरकारले खारेज गर्ने भएपछि त्याहा कार्यरत कर्मचारीहरुले विरोध जनाउदै आइरहेका छन् ।

जिल्लाका ३२ अतिरिक्त हुलाक कार्यालयमा १६६ जना कर्मचारी कार्यरत रहेका छन् । सरकारले देश भरीका ४७ जिल्लामा ९९ नयाँ (पालिका) हुलाक कार्यालय स्थापना गर्ने तयारी गरेको छ । स्थानिय तहमा स्थापना हुने पालिका हुलाक कार्यालयले हुलाक बस्तुको विक्री वितरण गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय