महेन्द्रनगर । कञ्चनपुर प्रहरीले भीमदत्त नगरपालिकाका ६ निजी मेडिकल (औषधि पसल) मा छापा हानेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका ७, १३, १० र १६ चार वडाका ६ मेडिकलमा छापा हानेको हो।
कञ्चनपुर प्रहरीले आइतबार पत्रकार सम्मेलनमार्फत गैरकानुनी रूपमा औषधि बेचबिखन गर्दै आएका औषधि पसलमा कारबाही गरेको जनाएको छ।

विनाइजाजत गैरकानुनी रूपमा औषधि बिक्री–वितरण गर्दै आएका निजी औषधि पसलमा छापा हानेको कञ्चनपुरका प्रहरी प्रमुख कमल थापाले बताए।
प्रहरी प्रमुख थापाका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका– ७ हल्दुखालबाट विमला उपाध्याय, भीनपा– १० गड्डाचौकीका सुरेश पाण्डेय, मोहन रोकाया र भीनपा– १६ मझ गाउँका राजेन्द्रबहादुर चन्द छन्।
भीनपा– १३ साझा चौराहका रामबहादुर विष्ट र भीनपा– १६ वसन्तपुरका वीरेन्द्रराज पन्त फरार रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूले विनाइजाजत जोखिमपूर्ण औषधि बेचबिखन गर्ने, लागुऔषध बेच्ने, फार्मेसी तथा औषधि पसलले चिकित्सकको सिफारिसविनै औषधि बेचबिखन गरेको आरोप लगाएको छ। ‘पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘भागेकाहरूको समेत खोजी भइरहेको छ।’
उनीहरूविरुद्ध कञ्चनपुर प्रहरी प्रहरीले मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद १९ बमोजिम जोखिमपूर्ण औषधि बिक्री–वितरणविरुद्ध मुद्दा चलाउने जनाएको छ।
