दार्चुला । अपर चमेलिया जलविद्युत आयोजनामा आजबाट विद्युत उत्पादन सुरु भएको छ । जिल्लाको मार्मा गाउँपालिका–१ र २ तथा अपिहिमाल गाउँपालिका–५ मा रहेको अपर चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भए संगै विद्युत उत्पादन सुरु भएको अपि पावर कम्पनी लिमिटेडका कार्यकारी प्रमुख संजीव न्यौपानेले जानकारी दिनुभयो । आयोजनाले आजबाट परिक्षण उत्पादन सुरु गरेको तथा भोली साउन ७ गते राष्ट्रिय प्रशारण लाइनमा जोडिने उहाले बताउनुभयो । ‘आयोजनाले आन्तरिक परिक्षण उत्पादन आजबाट सुरु गरेको छ, भोली राष्ट्रिय प्रशारण लाइनमा चार्ज गर्छौ, उहाले भन्नुभयो ।’
अढाई वर्षमा निर्माण सम्पन्न भएको आयोजनाबाट ४० मेगावाट विद्युत उत्पादन सुरु भएको छ । आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत् प्राधिकरणकोे बलाँच सवस्टेसनको १३२ केभी प्रशारण लाइनमा जोडिने उहाले बताउनुभयो । चमेलिया नदीको पानीलाई उपयोग गरी अपि पावर कम्पनी लिमिटेडले ४० मेगावाट क्षमताको आयोजना निर्माण सम्पन्न गरेको उहाँले बताउनुभयो । सुदूरपश्चिमलाई विद्युतको हब बनाउने अभियान अन्तरगत अपि पावर कम्पनी लिमिटेडले अपर चमेलिया जलविद्युत आयोजना निर्माण गरेको उहाले बताउनुभयो । आयोजनाबाट १६ किलोमिटर लामो लाइन मार्फत बलाच सवस्टेसनको १३२ केभी राष्ट्रिय प्रशारण लाइनमा जोडिने उहाको भनाई छ ।
आयोजनाको कूल लागत सात अर्ब ४० करोड रहेको उहाले बताउनुभयो । आयोजना निर्माणमा हिमालयन बैंकको अगुवाइमा कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल बङ्गलादेश बैंक र सेञ्चुरी कमर्सियल बैंकले ५ अर्ब १८ करोड लगानी गरेको उहाले जानकारी दिनुभयो । २०५ मिटर हेड (उचाइ) रहेको सो आयोजनाका लागि ६ किलोमिटर लामो ३.२ डायमिटरको पेनस्टक पाइपलाइन रहेको बताइएको छ ।
अपिहिमाल र मार्मा गाउँपालिका भएर बग्ने चमेलिया नदीको पानी उपयोग गरी अपिहिमाल गाउँपालिका–५ ओखलमा बाँध बनाई पाइपलाइन मार्फत ल्याइएको पानी मार्मा गाउँपालिका–२ घट्टेगाडमा विद्युत् गृहमा खसाली विद्युत उत्पादन गरिएको हो । आयोजनाबाट वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत उत्पादन हुने पनि कम्पनीले जनाएको छ । कम्पनीले यसअघि ८.५ मेगावाट क्षमताको नौगाड र ८ मेगावाट क्षमताको माथिल्लो नौगाड आयोजनाको निर्माण गरी राष्ट्रिय प्रशारणमा जोडिसकेको छ ।
