दार्चुला : जिल्लाको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
आ.व. २०७४/०७५ र आ.व. २०७५/०७६ मा पनेबाज-बन्तोली-बगौरा सडक खन्ने कार्यमा फिल्डको वास्तविक तथ्य बँग्याइ कटिङ गर्दा बढी दररेट रहेको ‘हार्ड रक’ उल्लेख गरेर २६ लाख रुपैयाँ अतिरिक्त भुक्तानी गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
‘सडक खन्ने कार्यमा फिल्डको वास्तविक तथ्य बँग्याइ कटिङ गर्दा बढी दररेट रहेको Hard Rock (कडा चट्टान)को परिमाण अस्वाभाविक रूपमा बढी मूल्याङ्कन गरी नापी किताबमा चढाई हस्ताक्षर गरी निर्माणस्थलमा भए/गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे/नगराएको परिमाणको झुट्टा बिल भरपाइ तथा कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरी रु. २६,०२,५५६।११ बढी भुक्तानी दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर गरेको देखिँदा निज सुरेन्द्रबहादुर विष्टलाई रु. २६,०२,५५६।११ (छब्बीस लाख दुई हजार पाँच सय छपन्न रुपैयाँ र पैसा एघार) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना गरी सोही दफा बमोजिम बिगो रकम असुल उपर हुन समेत माग दाबी लिइएको छ ।’
अख्तियारका प्रवक्ता भोला दाहालले मुद्दा दायर भएकोबारे रिटमार्फत जानकारी गराएका हुन् । विष्ट अहिले पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतकै रूपमा कार्यरत छन् ।
