
दार्चुला, असोज १६ गते । जिल्ला प्रहरी प्रहरी प्रमुख मनोहरप्रसाद भट्ट लगायतको टोली ब्याँस गाउँपालिकाको बडा नम्वर १ छाङरु तर्फ प्रस्थान भएको छ । भारतको बाटो भएर शनिबार विहान टोली उक्त क्षेत्रतर्फ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
नेपाल भारत सीमा क्षेत्र रहेको सीतापुलमा बन्ने प्रहरी चौकी भवनको नाप, नक्साङ्कनका लागि दार्चुलाका प्रहरी प्रमुख डिएसपी भट्टको टोली छाङरु तर्फ गएको बताइएको छ । टोलीमा नापी कार्यालय दार्चुलाका प्रमुख, प्रदेश प्रहरी कार्यालयबाट आएका प्रहरीका प्राविधिक लगायत सात जना रहेको जनाईएको छ ।
भारतले अतिक्रमण गरेको कालापानीबाट नजिक रहेको छाङरुमा पछिल्लो समय नेपालले आफ्नो सुरक्षा उपस्थिती वाक्लो वनाउदै छ ।
छाङरुमा सशस्त्र प्रहरीको गुल्मका लागि पक्की भवन बनाइदैछ भने प्रहरीको भवन निर्माणका लागि नाप, नक्साङ्कन गरिदैछ ।
भवन निर्माणको लागि कुल २ करोड २ लाख ८५ हजार ५ सय १९ रुपैयाँ लागतमा एलबी एण्ड एबी प्रा.लि धनगढीसँग गत वैशाख ७ गते ठेक्का सम्झौता भएको छ ।
दुई वर्षभित्रै भवन निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको छ । भवन निर्माण २०८० वैशाख ६ गते सक्नुपर्ने छ । भवन निर्माण गर्न सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बजेट विनियोजन गरेको हो । यसअघि पूरानो जीर्ण भवनमा बस्दै आएका प्रहरीको लागि २ तला र ११ कोठे भवन निर्माण हुन लागेको हो ।
हिउँ पर्नुभन्दा अघि नै भवनको जग उठाउने गरी काम गर्न निर्माण व्यवसायी पनि इच्छुक रहेको डिएसपी भट्टले बताए । अहिले नेपाल प्रहरी सीतापूलमा भवन नहुँदा छाङ्गरुको नीति कुण्डमा बसेको छ । अहिलेकै पूरानो भवनलाई भत्काएर नयाँ सुविधासम्पन्न भवन निर्माण गर्न लागिएको हो । नेपाल प्रहरीले नीतिकुण्ड बसेर सीतापूलमा ड्युटी गर्छ । सितापूलमा २०२७ सालदेखि प्रहरी चौकी स्थापना गरिएको हो ।