दार्चुला । संघीय सरकारको अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा कुनै शीर्षकमा पनि बजेटको व्यवस्था नगरेपछि सोमबारदेखि देशैभरका पशुपन्छी रोग अन्वेषण प्रयोगशालाको नियमित सेवा बन्द भएको छ ।
सुदूरपश्चिमको धनगढीस्थित प्रयोगशालाका प्रमुख डा. नरेश जोशीका अनुसार प्रयोगशालाले प्रदान गर्दै आएको विभिन्न सेवा तथा प्रयोगशालामा कार्यरत कर्मचारीहरूको पारिश्रमिकको रकमसमेत बजेटमा नराखिएपछि कार्यालयको नियमित काम देशैभर सोमबारदेखि ठप्प हुन पुगेको बताए ।
देशभरि काठमाडौंको खोप उत्पादन केन्द्रसहित ५ प्रमुख सहर विराटनगर, जनकपुर, पोखरा, सुर्खेत, धनगढीसमेत २० ठाउॅमा रहेका प्रयोगशाला बन्द भएका हुन् । यसैबिच पशु क्वारेन्टाइन कार्यालय कञ्चनपुर र यस कार्यालय अन्तरगत रहेका चेकपाेष्टहरु दार्चुला, गड्डाचाैकी र बेलाैरीले प्रदान गर्ने सेवाहरु १५ गतेबाट बन्द हुने एक सूचना जारी गरी जनाएकाे छ ।
‘संघीय सरकारले चालु आर्थिक वर्षको बजेटको सम्पूर्ण शीर्षकमा शून्य बजेट राखेको छ,’ डा. जोशीले भने, ‘यस्तो अवस्थामा हामीले सम्बन्धित मन्त्रालय र विभागमा पत्राचार गरेर अब कसरी कार्यालय सञ्चालन गर्ने भनेर जानकारी मागेका थियौं, कुनै निर्देशन प्राप्त नभएपछि काम बन्द गर्नुपर्ने अवस्था उत्पन्न भएको हो ।’
प्रयोगशालाको कार्यालयमा सूचना प्रकाशित गरी पशुपन्छी रोग अन्वेषण प्रयोगशालाको लागि कुनै पनि बजेट व्यवस्था नरहेको हुँदा अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिक सेवाबाहेक सबै प्रकारको सेवा सोमबारदेखि प्रदान गर्न असमर्थ रहेको व्यहोरा उल्लेख गरिएको छ ।
