दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिकामा वडा स्तरीय दोस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता हुने भएको छ । गौरापर्वको अवसर पारेर मालिकार्जुनको पस्तीमा दोस्रो अध्यक्षकप क्रिकेट प्रतियोगिता हुने भएको हो । क्रिकेट प्रतियोगिता भाद्र २० गते संचालन हुने आयोजक पस्ती स्पोट्स क्लबले जानकारी दिएको छ । मालिकार्जुन गाउँपालिकाको आर्थिक सहयोगमा संचालन हुने प्रतियोगितामा सहभागीता जनाउनका लागि टिम दर्ताको आह्वान गरिएको छ । प्रतियोगितामा सहभागिता जनाउनका लागि भाद्र १९ गते ५ बजे भित्र टिम दर्ता गराइसक्नुपर्ने आयोजक पस्ती स्पोट्स क्लबका अध्यक्ष विनोद सिंह धामीले जानकारी दिए । टिम दर्ताका लागि ४ हजार ४ सय ४४ रुपैया तोकिएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ६१ हजार १ सय ११ सहित शिल्ड, मेडल र प्रमाणपत्र र द्धितीय हुने टिमलाई नगद ३१ हजार १ सय ११ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै विभिन्न बिषेश पुरस्कारको समेत व्यवस्था गरिएको छ । जसमा म्यान अफ द टुनामेन्ट, उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट बलर र उत्कृष्ट फिल्डरलाई विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता शंकरपुर माबि पस्तीको खेलमैदानमा हुने आयोजकले जनाएको छ ।

