काठमाडौं – कुनै समय बलिङ र व्याटिङ दुवैमा निकै कमजोर रहेको नेपाली क्रिकेट टिमले विश्व क्रिकेटका दुई ठूला महारथी भारत र पाकिस्तानको टिमसंग जबरजस्त प्रर्दशनले विश्वको ध्यान तानेको छ । सोमबार एसिया कप २०२३ अन्र्तगत भारतीय क्रिकेट टिमसंग प्रतिस्पर्धा गरेको नेपाली क्रिकेट टिमले देखाएको निडरता र उत्कृष्ट प्रर्दशनलाई लिएर अहिले विश्वभर प्रशंसा भैरहेको छ ।

पहिलो पटक भारतीय क्रिकेट टिमसंग खेल्ने मौका पाएको नेपाली टिमले भारतसंग प्रतिस्पर्धा मात्रै गरेन , दुई पटकको विश्व बिजेता टिमलाई श्रीलंकाको पाल्लिकेले रंगशालमा हम्मे हम्मे नै पारिदिएको थियो ।

एसिया कप अन्र्तगत समूह ए मा रहेको नेपालले आफ्नो पहिलो तथा उद्धघाटन खेल पकिस्तानसंग खेलेको थियो । जहाँ नेपाल पाकिस्तानसंग २ सय ३८ रनले पराजित भएको थियो । यस्तै छिमेकी राष्ट्र भारतसंग आफ्नो दोस्रो ऐतिहासिक खेलमा भने नेपालको प्रर्दशन गज्जबको रह्यो ।

भारतविरुद्ध पहिलो व्याटिङ गरेको नेपालका ओपनिङ ब्याट्सम्यानले उत्कृष्ट खेल्दै निकै राम्रो सुरूवात गर्न सफल भएका थिए । ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्काको मद्दतमा ३८ रन जोडेका थिए । भुर्तेलले पहिलो विकेटका लागि आसिफ शेखसँग ६५ रनको साझेदारी गरेका थिए ।

भारतसंग खेलमा आसिफ अर्धशतक प्रहार गर्न सफल भएका थिए । भारतविरूद्ध पहिलो अर्धशतक बनाउने इतिहास बनाएका आसिफले ९७ बलमा ८ चौका हानेका थिए । यस्तै गुल्सन झाले ३५ बलमा ३ चौकाको मद्दतमा २३ , दीपेन्द्रसिंह ऐरीले २५ बलमा ३ चौका नै प्रहार गर्दै २९ रन र सोमपाल कामीले ५६ बलमा १ चौका र २ छक्काको मद्दतमा ४८ रन जोडेका थिए ।
नेपालले ४८ दशमलब २ ओभरमा अलआउट हुँदा २ सय ३० रन जोडेको थियो । वर्षाका कारण पटक पटक प्रभावित भएको खेलमा भारतले कुनै पनि विकेट नगुमाउदै लक्ष्य पूरा गरेर सुपर फोरमा स्थान पक्का गरेको छ ।

तर विश्वस्तरीय बलर मोहमद सामी, मोहमद सिराज, कुलदिप यादव , हार्दिक पाण्ड्या, रविन्द्र जडेजा जस्ता खेलाडीको बलको नेपाली ब्याटरले डटेर सामाना गरेपछि विश्व क्रिकेट जगतमा निकै चर्चा कमाउन सफल भएका छन् । एउटा गजबको कुरा त के छ भने उक्त खेलमा भारतका मुख्य स्पिनर कुलदिप यादवले नेपाली ब्याटरको एउटा पनि विकेट लिन सकेनन् ।

भारतका लागि स्पिनर रविन्द्र जडेजाले १० ओभर बलिङ गर्दा ४० रन खर्चिए भने ३ विकेट लिन सफल भए । खेलमा जित र हार स्वभाविक भएपनि भारतसंग पराजित भएपनि क्रिकेटविज्ञ देखी दर्शकहरुले नेपाली क्रिकेट खेलाडीलाई जितको श्रय दिइरहेको छन् ।
कुनै समय नेपाल पनि क्रिकेट खेल्छ भन्ने भनाईलाई नेपाली क्रिकेटरहरुले छिमकी राष्ट्र भारतसंगको खेलवाट प्रमाणित मात्रै गरेनन् नेपाल पनि विश्व क्रिकेटको उदीयमान राष्ट्र रहेको संकेत समेत दिएका छन् । अहिले नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानी रोहित पौडेलले सम्हालिरहेका छन् ।

रोहित पौडेलको कप्तानी र मुख्य प्रशिक्षक मोन्टी देसाइको लगनशिलताले नेपाली क्रिकेटले ठूलो सफलता हात पारेको छ । नेपाल पहिलो पटक एसिया कपमा छनौट भएपछि नेपाली समर्थकहरुमा जुन प्रकारको उत्साह थियो , त्यति नै उत्साह सरकारका प्रमुख र अन्य राजनितिज्ञहरुमा पनि देखिएको थियो ।

एसिया कपमा पाकिस्तानसंग आफ्नो पहिलो खेल खेल्नु अघि प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले भर्चुअल माध्यमवाट नेपाली टिमलाई शुभकामना दिए । नेपाल र भारतबिचको दोस्रो खेल हेर्नका लागि नेपालवाट ठूलो समर्थक श्रीलंका पुगेको थियो ।

सो खेल हेर्नका लागि पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने ,काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह देखि अन्य विभिन्न उच्च पदस्थ व्यक्तिहरु श्रीलंका पुगेका थिए । नेपालमा पनि पूर्वप्रधानमन्त्री देखी मन्त्री र राजनितिज्ञहरुले खेल हेरिरहेको तस्बिर सामाजिक संजालमा राखेका थिए । तर खेल चल्दा देखिने उत्साह खेल सकिएसंगै सेलाउने गरेको छ । नेपाली क्रिकेटलाई विश्वले चिने पनि राज्यले भने अझै चिन्न नसकेको गुनासो बढ्दो छ ।

नेपाल र भारतको खेल हेरेपछि काठमाडौंका मेयर बालेन शाहले सरकारले जग्गा उपलब्ध गराएमा महानगरले रंगशाला बनाउने घोषणा गरेका छन् । उनले आफ्नो सामाजिक संजालमा लेख्दै नेपाली क्रिकेटको स्तरोन्नतिका लागि रंगशाला बनाउन आवश्यक रहेको र यसका लागि सरकारले काठमाडौं वा आसपास १०० रोपनी जग्गा उपलब्ध गराएमा काठमाण्डौ महानगरबाट रंगशाला बनाउन आफूहरुले पहल गर्ने बताएका छन् । साथै उनले यस्ता रंगशाला र केही ठुला खेलहरु हुने भए मात्रै खेलको विकास हुने प्रस्ट पारेका छन् ।

तर पटक पटक सरकार परिवर्तन भए , खेलकुद मन्त्रालयहरुमा मन्त्रीहरु फेरिए । यसमा राज्यका तर्फवाट भने गम्भिर ध्यानाकर्षण हुन सकेको छैन् । अन्य देशमा त्यहाँको सरकारले खेलकुद क्षेत्र र खेलाडीमा गर्ने लगानी र नेपालको सरकारले गरेको लगानी जमिन र आकाशको जस्तै छ भन्दा फरक नपर्ला । न त नेपालमा खेलकुदका गतिबिधि संचालन गर्न राम्रा पूर्वाधारहरु छन् न त खेलाडीलाई आवश्यक पर्ने सेवा सुविधा छ ।

पटक पटक हुने सरकार परिवर्तन भएपनि कुनै पनि सरकारले खेलकुद क्षेत्रमा सम्झन लायक विकास गर्न सकेका छैनन् । खेलकुदको विकासमा सरकारले सधैं खुट्टा कमाउदै आएको छ । सरकारले क्रिकेटका खेलाडीहरुको हौसलाका लागि दिने भन्दै घोषणा गरिएका रकमहरु पनि समयमा नपाएको गुनासो स्वयमु खेलाडीहरुले गर्दै आएका छन् । विश्व क्रिकेटको उदीयमान राष्ट्र रुपमा परिचय बनाउन थालेको नेपाली क्रिकेट जगतलाई माथि उठाउन अब पनि राज्य पक्ष कुनै हालतमा पनि चुक्नु हुदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय