दार्चुला । भारतले नेपाली भुमी लिम्पियाधुरा क्षेत्रको जोलिङकाङमा हेलिप्याड निर्माण गरिरहेको पाइएको छ । बर्षौ पहिले अतिक्रमण गरेको नेपाली भुमी जोलिङकाङमा भारतले हेलिप्याड निर्माण गरिरहेको भारतीय संचारमाध्यम (अमर उजाला) ले लेखेको छ । जोलिङकाङमा निर्माण हुन लागेको हेलिप्याडमा दुई वटा ‘चिनुक’ र ६ वटा साना हेलिकप्टर एकैसाथ अवतरण गर्न सक्ने बताइएको छ । १५० मिटर लम्बाइ र ३५ मिटर चौडाइ भएको हेलिप्याडको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताइएको छ । गर्ग एण्ड गर्ग कम्पनीले पाँच करोड लगानीमा हेलिप्याड निर्माण गरिरहेको हो ।
आधिकैलाश पर्वतको दर्शन र चीन सीमा नजिकैको यो हेलिप्याड रणनीतिक हिसाबले महत्वपूर्ण मानिएको छ । व्याँस उपत्यका (घाँटी) मा भारतले आधा दर्जन हेलिप्याड निर्माण गरी हवाइ ओहोरदोहोर गर्ने गरेको छ । जोलिङकाङबाट आदि कैलाश पर्वत २ किलोमिटरको दूरीमा पर्छ । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले असोज २४ र २५ गते (अक्टोबर ११ र १२ तारिख) पिथौरागढ जिल्लाको भ्रमण गर्ने प्रस्ताव राखेका छन् ।
प्रधानमन्त्री मोदी हेलिकप्टरबाट जोलिङकाङको हेलिप्याडमा अवतरण गर्ने भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ । मोदीको प्रस्तावित भ्रमणलाई मध्यनजर गर्दै व्याँस उपत्यकाको चीन सीमानजिकै रहेको ज्योलिकाङ हेलिप्याड निर्माणको कामलाई तीव्रता दिइएको छ । प्रधानमन्त्री मोदी सबैभन्दा पहिले नारायण आश्रम, आदि कैलाशको दर्शन गर्नेछन् । त्यसपछि उनले पिथौरागढको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
