दार्चुला : शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा संचालनमा रहेका २१ अटो मध्ये ३ वटा अटो मात्रै चल्ने भएका छन् । गोकुलेश्वर देखि ८÷१० किलोमिटर दायाँबायाँ दुरीमा संचालनमा रहेका २१ वटा अटो मध्ये ३ वटा अटो चालक संग मात्रै सवारी चालक अनुमति पत्र रहेकाले उनीहरुलाई मात्रै चल्न दिने दार्चुलाका प्रहरी नायव उपरिक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए ।
बिना चालक अनुमति पत्र संचालनमा रहेको बाकी १८ अटोलाई जरिवाना गरी संचालनमा रोक लगाइएको उहाले बताए । शैल्यशिखर नगरपालिकाले अटो संचालनका लागि रुट परमिट जारी गरे पछि २०७७ फागुन देखी गोकुलेश्वरमा अटो संचालनमा आएका थिए । यातायात कार्यालयले पहाडी जिल्लाहरुमा अटो संचालनका लागी परमिट नदिएको अवस्थामा नगरपालिकाले परमिट दिएपछि सो क्षेत्रमा अटो संचालनमा आएका हुन् ।
अटोमा पिकअप निकै कम हुने भएका कारण यातायात कार्यालयले तराईका जिल्लाहरुमा मात्रै परमिट जारी गर्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ । गोकुलेश्वरमा संचालनमा रहेका सवारी चालक अनुमति पत्र भएका ३ वटा अटो निरन्तर चल्ने छन्, भने बाकी १८ वटा अटो सवारी चालक अनुमति पत्र नल्याउदा सम्म चल्न पाउने छैनन् । बिना अनुमति पत्र संचालन गरेको पाइए कारबाही गरिने प्रहरी नायव उपरिक्षक भट्टले बताए ।