दार्चुला । डेंगु रोग नियन्त्रण तथा रोकथाम सम्वन्धि सरोकारवालहरु बिच सँग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । महाकाली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा शुक्रवार डेंगु रोग नियन्त्रण तथा रोकथाम सम्वन्धि सरोकारवलाहरु सँग छलफल गरिएको हो ।
पछिल्लो समय बढ्दै गईरहेको डेंगु रोगलाई कसरी नियन्त्रण तथा रोकथाम गर्ने भन्नेबारे छलफल गरिएको छ । आर्थिक बर्ष २०७९/०८० मा जिल्ला भरी ३ सय ६५ जनामा डेंगु रोग संक्रमण भएको तथ्याङक थियो ।
त्यस्तै यो आर्थिक बर्षको साउन र भाद्र महिनामा मात्रै जिल्ला भरी ४२ जनामा डेंगु रोग संक्रमण देखिएको छ भने सबैभन्दा बढी महाकाली नगरपालिकामा २१ जनामा डेंगु रोग संक्रमण देखिएको महाकाली नगरपालिका स्वास्थ्य शाखा संयोजक जय बहादुर फर्सवानले जानकारी दिए ।
लामखुट्टे को टोकाइबाट हुने किटजन्य सरुवा रोग डेंगु रहेको भन्दै स्वास्थ शाखा प्रमुख फर्सवानले रोग नियन्त्रणमा सबै सरोकारवालहरुको भुमिका उत्तिकै रहने भन्दै भन्दै सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गरे । केहि दिन अघि डेंगु रोगका कारण महाकाली नगरपालिका वडा नम्वर ९ मा एकजना ज्यान गएको थियो ।
डेंगु गराउने लामखुट्टेको लार्भा खोज र नष्ट गर भन्ने मुलनाराका साथ यहि असोज ८ र ९ गते नगरपालिकाभित्र लामखुट्टेको लार्भा खोजी गरी नष्ट गरिने र जनचेतना मुलक कार्यक्रम संचालन गरिने महाकाली नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ । त्यसकालागि नगरक्षेत्रभित्र ८ वटा समिति गठन गरिएको र समिति संयोजक स्वास्थ्यकर्मी रहेको जनाएको छ ।
महाकाली नगरपालिका उपप्रमुख दुर्गा कुमारी खत्री बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका निमित्त कार्यकारी नरसिह बडाल, नगरक्षेत्र भित्रका बिभिन्न स्वास्थ्यचौकीका प्रमुख एवम प्रतिनिधि, आमा समुह, रेडक्रस प्रतिनीधि, शिक्षक लगायत पत्रकारहरुको उपस्थिति रहेका थियो ।

डेंगुका लक्षणहरुः

एक्कासी ज्वरो आउने ।
टाउको, मांसपेशी तथा जोर्नी दुख्ने ।
थकान महसुस हुने ।
वाकवाकी लाग्ने वा बान्ता हुने ।
आफ्नो दैनिकी, खानपान वा अन्य कामकुरामा रुची नलाग्ने ।

जोगिने उपाय
लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएको लुगा लगाउने ।
झुल भित्र मात्र सुत्ने ।
घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।
घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने ।
खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने ।
साझँ र विहान करेशाबारीमा जाँदा, घर बाहिर टहलिँदा, वा पार्कमा जाँदा र बालबालिकालाई लैजाँदा लामखुट्टेले नटोकोस भनेर विशेष ध्यान दिने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय