दार्चुलामा पछिल्लो समय मधुमेह र उच्चरक्त चापका विरामीहरुको संख्यामा बृद्धि भएको छ । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार पछिल्ला दुई वर्षको तथ्याङ हेर्दा जिल्लामा मधुमेह र उच्चरक्त चापका विरामीहरुको संख्यामा बृद्धि भएको बताइएको छ । आधुनिक जीवनशैली, अस्वस्थ खानपान र अल्छिपनाका कारण मधुमेह लगायत मुट रोगको जोखिम बढिरहेको सवास्थ्य कार्यालय दार्चुलाका बरिष्ठ जनस्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिनु भयो । जाँडरक्सी, सुर्ती चुरोट नखाए तथा चिल्लो, पिरो बोसो, भुटेका, तारेका खानेकुरा नखाए मधुमेह मुटु रोगबाट बच्न सकिने उहाँले बताउनु भयो । यस्तै, मासु कम खाने, सागपात धेरै खाने र दैनिक शारीरिक व्यायाम गर्ने हो भने पनि मधुमेह मुटु रोगबाट बच्ने सकिने स्वास्थ्यकर्मीहरुले बताएका छन । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार आर्थिक वर्ष २०७८÷७९मा महिला १८८ जना तथा पुरुष २२२गरी जम्मा ४१० जनामा मधुमेह रोग देखा परेको थियो । यस्तै आर्थिक वर्ष २०७९÷८०मा ४२६ जना महिला तथा ४७६ जना पुरुषगरी जम्मा ९०२ जनामा मधुमेह रोग देखा परेको कार्यालयका खोप सुपरभाइजर विरेन्द्र भट्टले जानकारी दिनु भयो ।
चालु आर्थिक वर्षको हाल सम्म मात्रै ६९ जना महिला ७३ जना पुरुषगरी जम्मा १४२ जनामा मधुमेह रोग देखापरेको उहाँले बताउनु भयो । दार्चुलामा पछिल्ला वर्षहरुमा उच्च रक्तचापका विरामीहरु समेत बढेका छन । आर्थिक वर्ष २०७८÷७९मा महिला ६०७ तथा ६१५गरी १ हजार २२२ जनामा उच्च रक्तचाप देखिएको छ । यस्तै आर्थिक वर्ष २०७९÷८०मा १ हजार ७४ जना महिला १ हजार १८७ जना पुरुषगरी जम्मा २२६१ जनामा उच्च रक्तचाप देखिएको कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षको भाद्र महिना सम्म २३७ जना महिला र २७८ जना पुरुषगरी५१५ जनामा उच्च रक्चचाप देखिएको छ । यसैविच आज विश्व मुटु दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ । विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य सङ्गठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थाले पनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ । पछिल्लो समय दार्चुला सहित देशैभर मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ ।
