
प्रेमराज जोशी दार्चुला कार्तिक ०१ । आईतवार राति हावा र हुरी सहित भएको वर्षाका कारण विद्युतिय पोल ढल्दा जिल्ला सदरमुकाम लगायत क्षेत्रको विद्युत पुर्ण रुपमा अवरुद्ध भएको छ ।
चमेलिया जल विद्युत आयोजनावाट जिल्ला सदरमुकाम खलंगा सम्म विस्तार गरिएको विद्युतीय लाईन अन्तर्गतको बरमुडे क्षेत्रका ३ वटा पोल ढल्दा विद्युत पुर्ण रुपमा अवरुद्ध भएको हो ।
जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्वर ६ मा पर्ने वरमुडे क्षेत्रमा विस्तार गरिएको ३३ केभिए लाईनका पोलहरु हावा हुरीले ढलेर विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रले जनाएको छ ।
आईतवार राति ११ बजे अवरुद्ध भएको लाईन मर्मत हुन नसक्दा विद्युत सुचारु हुन सकेको छैन ।
दार्चुला वितरण केन्द्रका अनुसार सो क्षेत्रमा पोल गाड्ने कार्य भैरहेको र मौषम प्रतिकुल भएका कारण अवरुद्ध विद्युतीय लाईन सुचारु गर्न कठिनाई भैरहेको वताईएको छ ।
विद्युत अवरुद्ध हुँदा जिल्लामा सदरमुकाम खलंगा लगायत आसपासका क्षेत्रहरुमा अन्धकार भएको छ ।
३३ केभिए लाईन विस्तारको क्रममा ठेकेदार र तत्कालीन प्राधिकरण प्रमुखको मिलेमतोमा चरम भ्रष्टाचार भएको यहाँका स्थानियले आरोप लगाएका छन ।
विद्युतीय लाईन गुणस्तरीय नहुदा सामान्य हावाहुरी र पानी परेको वेला पनि लाईन अवरुद्ध हुने गरेको छ ।